स्वास्थ्य, कृषि र शिक्षा प्राथमिकतामा राखेर जनमुखी बजेट बनाउन शान्ति लोधको आग्रह
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य शान्ति लोधले आगामी बजेट जनमुखी र समावेशी बनाउँदै स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।
सदस्य लोधले स्वास्थ्यलाई सबैभन्दा महत्वपूर्ण क्षेत्रको रूपमा चिनाउँदै स्वास्थ्य सुधारका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखिन्। उनले स्वास्थ्यपछि कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताउँदै प्रदेशको विकासका लागि यी क्षेत्रहरूलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उनले हाल आवश्यक नीति निर्माण नहुँदा विभिन्न समस्या भइरहेकाले समयमै नीति निर्माण गरी बजेटको प्रभावकारी परिचालन गर्नुपर्नेमा पनि जोड दिइन् ।
लोधले बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक जनप्रतिनिधिहरूबीच कुनै भेदभाव हुनु नहुने स्पष्ट पार्दै बजेट सबै जनताको हितमा समान रूपमा परिचालित हुनुपर्ने धारणा राखिन् ।
प्रदेशसभा बैठकमा उनले समावेशी र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै प्रदेश सरकारलाई सचेत गराएकी हुन् ।








