जीबी राईलाई फिर्ता गराउन सांसद थापाद्वारा मलेसियन प्रतिनिधिमण्डलसँग आग्रह
प्रकाशित मिति : 16 May, 2025 2:07 pm
काठमाडौँ । नेपाल भ्रमणमा रहेको मलेसियाका सांसदहरूको प्रतिनिधिमण्डलसँग नेकपा एमालेका सांसद तथा सहकारी अपचलन छानबिन विशेष समितिका संयोजक सूर्य थापाले सहकारीको रकम ठगी गरी फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) लाई नेपाल फर्काउन सहयोग गर्न अनुरोध गरेका छन्।
सांसद थापाले मलेसियाको ‘सेकेन्ड होम मलेसिया’ कार्यक्रमअन्तर्गत सपरिवार बसोबास गरिरहेका राईलाई नेपाल फिर्ता गराउन प्रतिनिधिमण्डलले भूमिका खेलिदिन आग्रह गरेका हुन्।
उनले जीबी राई करिब ८ अर्ब रुपैयाँ बराबरको सहकारी बचत रकम अपचलन र ठगीमा संलग्न रही फरार रहेका व्यक्ति रहेको जानकारी समेत दिएका छन्।
उनका अनुसार संसदीय छानबिन विशेष समितिले खोजी गरी कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन दिएका २९ फरार व्यक्तिहरूमध्ये राईको नाम पहिलो स्थानमा रहेको छ।








