मदन–आश्रितको ३२औँ स्मृति दिवस, एमालेद्वारा देशभर कार्यक्रम
काठमाडौँ । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित)को ३२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी विशेष रूपमा मनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशैभर श्रद्धाञ्जली, विचार गोष्ठी, रक्तदान जस्ता कार्यक्रममार्फत स्मरण गर्दै जनताको बहुदलीय जनवादको सन्देशलाई पुनः उजागर गरेको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै जनताको बहुदलीय जनवादले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई गुमायौँ । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो ।”
मदन–आश्रितको स्मृतिमा शिर निहुराउँदै अध्यक्ष ओलीले थप लेखेका छन्, “मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौँ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ ।”
जनताको बहुदलीय जनवाद : स्थायी मार्गदर्शन
एमालेले प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई नेपाली सन्दर्भमा समाजवादतर्फको यात्राको व्यावहारिक मार्गदर्शनका रूपमा मानेको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको यो विचारधाराले २०४६ सालको जनआन्दोलन, संविधानसभा हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका संघर्षहरूमा निर्णायक भूमिका खेलेको एमालेको दाबी छ ।
देशभर श्रद्धाञ्जली कार्यक्रम
स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिएको छ भने देशैभरका जिल्ला, स्थानीय तह र वडास्तरमा विविध श्रद्धाञ्जली कार्यक्रम, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान जस्ता कार्यक्रम सञ्चालन गरिएको छ।
सङ्घर्ष र स्मृतिको यात्रा
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय सवारी दुर्घटनामा परेर मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए। त्यसयता प्रत्येक वर्ष जेठ ३ गतेलाई एमालेले ‘मदन–आश्रित स्मृति दिवस’का रूपमा मनाउँदै आएको छ ।
एमाले नेताहरुले स्मृतिदिनको अवसरमा मदन भण्डारीको विचार र योगदानलाई स्मरण गर्दै लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकालाई उच्च सम्मानका साथ स्मरण गरेका छन् ।








