१९ मंसिर २०८२, शुक्रबार

परिणाम देखिने विकासमा मात्रै लगानी गर्छ सरकार- मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  17 May, 2025 10:08 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परिणाम देखिने विकास निर्माणका कामहरूमा मात्रै प्रदेश सरकारले लगानी गर्ने स्पष्ट पारेका छन् ।

दाङको धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रममा बोल्दै उनले साना र टुक्रे योजनाहरूलाई निरुत्साहित गर्दै योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए ।

“परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन। साना सडकमा स्थानीय सरकारले लगानी गर्ने र मझाैला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएका छौँ,” मुख्यमन्त्री आचार्यले भने । प्रदेश सडक गुरु योजना निर्माण गरिएको र सोही आधारमा सडक क्षेत्रमा लगानी गरिने पनि उनले उल्लेख गरे ।

लुम्बिनी प्रदेशमा करिब ३ हजार सडकमध्ये अहिले ७ सय सडकलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी पनि उनले दिए ।

धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो सडकलाई प्रदेश राजधानीसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा विकास गर्ने लक्ष्यसहित संघीय सरकारसँग समेत समन्वय भइरहेको उनको भनाइ थियो।

नागरिक जीवनस्तरसँग जोडिएको विकास

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई नागरिकको जीवनस्तर उकास्न केन्द्रित गरेर अघि बढाएको स्पष्ट पारे । “हाम्रा योजनाहरू कागजमा मात्र सीमित हुने छैनन्, नागरिकको प्रत्यक्ष फाइदाका लागि परिणाममुखी विकासमा ध्यान दिनेछौँ,” उनले भने ।

कार्यक्रम शितगंगा नगरपालिका–११ का वडाध्यक्ष नवराज भुसालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष भीमबहादुर केसी, वडा नम्बर १० का अध्यक्ष केशव बेल्वासे, स्थानीय अगुवा दिनेश पुनलगायतले विकास निर्माणको आवश्यकता र अपेक्षाबारे आफ्ना धारणा राखेका थिए ।

रङ्गसिङ खोलामा अनुगमन

कार्यक्रमपछि मुख्यमन्त्री आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पक्की पुल, तटबन्ध, सडक योजना तथा विद्यालयको अवस्थाको अनुगमन गरे ।

संघीय सरकारको लगानीमा निर्माण भइरहेको उक्त पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने, बाढीको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माणमा तीव्रता दिनुपर्ने र विद्यालयमा कक्षाकोठा थप गर्ने विषयमा समेत छलफल भएको थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय आवश्यकता पहिचान गरी दीर्घकालीन लाभ दिने पूर्वाधार विकासमा जोड दिने नीति अवलम्बन गरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !