२२ मंसिर २०८२, सोमबार

दाङ जिल्ला स्थापना दिवस : इतिहास बिउँझाउने समर्पित यात्रा

वि.सं. २००८ सालको यही जेठ ३ गते दाङले औपचारिक रूपमा जिल्ला स्वरूपमा प्रशासनिक यात्रा सुरु गरेको थियो
प्रकाशित मिति :  17 May, 2025 10:41 am


दाङ । दाङका बासिन्दाका लागि आजको दिन विशेष दिन हाे । इतिहास, पहिचान र स्वाभिमानसँग गाँसिएको आत्मीयताकाे दिन हो ।

वि.सं. २००८ सालको यही जेठ ३ गते दाङले औपचारिक रूपमा जिल्ला स्वरूपमा प्रशासनिक यात्रा सुरु गरेको थियो । गोश्वारा कार्यालय स्थापना भएसँगै दाङले राज्यसंरचनाभित्र आफ्नो हैसियत सुनिश्चित गरेको थियो, जुन आज दाङवासीको गौरव बनेर हरेक वर्ष सम्झिँदै आएको छ।

दाङ स्थापना दिवसकाे समाचार प्रकाशित गाेरखापत्र पत्रिका/पत्रकार डा. सुदिप गाैतमकाे फेसबुकबाट

२००७ सालको जनक्रान्तिले मुलुकमा ल्याएको राजनीतिक परिवर्तनसँगै दाङलाई छुट्टै जिल्ला बनाउने निर्णय नेपाल सरकारले वैशाख २३ गते गर्‍यो तर त्यो निर्णयको वास्तविक कार्यान्वयन वि.सं. २००८ सालको जेठ ३ गते भयो, जब दाङमा अनिरुद्रप्रसाद सिंह पहिलो वडाहाकिमका रूपमा पदस्थापन भए र गोश्वारा कार्यालय सञ्चालनमा आयो । यसले दाङलाई नक्सामा छुट्टै अस्तित्व दिने मात्र होइन, यहाँका बासिन्दाहरूको अधिकार, पहिचान र सम्भावनालाई नयाँ रूपले उजागर गर्‍यो ।

दाङ स्थापनाका लागि राजा त्रिभुवनलाई भेट्न गएकाे जिल्लाकाे प्रतिनिधि टाेली/पत्रकार डा. सुदिप गाैतमकाे फेसबुकबाट

यस ऐतिहासिक यात्रासँग जोडिएका स्मृतिहरू अझै ताजै छन् । २००७ सालमै दाङ प्रतिनिधिमण्डलले राजा त्रिभुवनलाई भेटेर दाङको भूगोल, समाज र प्रशासनिक आवश्यकताबारे जानकारी गराएको प्रसंग अहिले पनि गर्वका साथ सुनिन्छ ।

पत्रकार डा‍. सुदिप गाैतमले आज (शनिबार) बिहानै सो ऐतिहासिक क्षणका तस्बिरहरू र गोरखापत्रमा छापिएका समाचार सार्वजनिक गरेर जिल्लाबासीलाई स्थापना दिवस स्मरण गराइदिएका छन् ।

उनले हलवार निवासी अजित शर्माको प्रयासमा सुरक्षित ती दस्तावेजहरू दाङको इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने अमूल्य सम्पत्ति बनेकाे उनले चर्चा गरेका छन् ।

दाङको परिचय केवल एक प्रशासनिक इकाइमा सीमित छैन । २,९५५ वर्ग किलोमिटरमा फैलिएको दाङ भित्री मधेशका दाङ र देउखुरी उपत्यकाबाट चिनिन्छ, जसले भूगोल, प्रकृति र सम्भावनाको अद्वितीय समिश्रण बोकेको छ ।

एसियाकै ठूला उपत्यकामध्ये एक मानिने दाङ उपत्यका उत्तरमा महाभारत शृंखला र दक्षिणमा चुरे पहाडले घेरेको छ। देउखुरी उपत्यका भने चुरे र डुडुवा डाँडाबीच सघन हरियालीसहित विस्तार भएको छ ।

जिल्लाको दुई तिहाई भूभाग वनले ढाकिएको छ भने बाँकी भूभाग कृषि, खनिज र मानव वासोबासका लागि उपयोग हुँदै आएको छ । कोइला, चुनढुंगा, तामा, मट्टीतेल जस्ता खनिज पदार्थहरूको प्रचुर सम्भावना दाङको आर्थिक आधार बन्ने सम्भावना बोकेको छ ।

चुरे क्षेत्रमा पाइने बलौटे दुमट माटो र उपत्यकामा फैलिएको चिम्ट्याइलो माटोले कृषि उत्पादनमा उच्च सम्भावना देखाएको छ । राप्ती र बबई नदी, बाह्रकुने दह, सप्तकुण्ड, जखेरा ताल, पुरन्धारा र सुनछहराजस्ता जलस्रोतहरूले दाङको पर्यटकीय र प्राकृतिक महत्वलाई अझ बढाएका छन् ।

दाङको सामाजिक र सांस्कृतिक संरचना विविधताले भरिएको छ । थारु समुदाय यहाँका पहिलो बासिन्दा मानिन्छन् । उनीहरू पछि बाहुन, क्षेत्री, मगर, नेवार, मुसलमान, दलित लगायत अन्य जातजातिको बसोबास विस्तार हुँदै गयो ।

दाङ समाजले यही विविधतालाई स्वीकार्दै सहिष्णुता र साझा पहिचानको उदाहरण पेश गरेको छ । अम्बिकेश्वरी, कालिका भगवती, त्रिसिद्धेश्वरी, देवीकोट, पाण्डवेश्वर शिव मन्दिर लगायत धार्मिक स्थलहरूले दाङको सांस्कृतिक गरिमालाई अझ मजबुत पारेका छन् ।

इतिहासको पाना पल्टाउँदा दाङले नेपाल एकीकरणमा पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। वि.सं. १८४३ मा दाङका राजा नवलसिंह गोर्खाली सेनासँगको तापाको युद्धमा वीरगति प्राप्त गरे । त्यही समयदेखि दाङको प्रशासनिक स्वरूपमा परिवर्तन सुरु भयो, जसको औपचारिकता २००८ सालमा आएर पूरा भयो ।

वर्तमानमा दाङ आर्थिक सम्भावनाले भरिपूर्ण छ। कृषिलाई मेरुदण्ड मानेर वन, जलस्रोत, खनिज र पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नाले दाङ प्रदेश र देशको आर्थिक नक्सामा महत्वपूर्ण केन्द्र बन्ने दिशातर्फ अघि बढिरहेको छ ।

प्रदेश सरकारको नीति पनि साना टुक्रे योजनालाई निरुत्साहित गर्दै परिणाममुखी र दिगो विकासतर्फ केन्द्रित छ, जसले दाङलाई अझ मजबुत बनाउन सक्छ तर दाङको स्थापना दिवस केवल स्मृतिको औपचारिकता होइन । यो दाङवासीको पहिचानप्रतिको गर्व, इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको प्रतिबद्धताको दिन हो । स्थानीय तह, प्रदेश सरकार, इतिहासविद् र नागरिक समाजको साझा प्रयासमा मात्र दाङको गौरवशाली विरासत जगेर्ना हुनसक्छ ।

“हिजोको इतिहासले आजको पहिचान बनाउँछ, र आजको पहिचानले भोलिको सम्भावना निर्धारण गर्छ” भन्ने सन्देश बोकेर दाङ जिल्ला स्थापना दिवसले आफ्नो माटो र समाजप्रतिको जिम्मेवारी फेरि एकपटक स्मरण गराइरहेको छ ।

दाङको यो गौरवगाथा भोलिका दिनहरूमा थप उज्यालो बनोस् भन्ने कामना आजको दिनसँग जोडिएको भावनात्मक सम्पत्ति बनेको छ।



प्रतिक्रिया दिनुहोस !