२२ मंसिर २०८२, सोमबार

प्रतिनिधिसभाको बैठक आज : तीन महत्वपूर्ण विधेयकमाथि छलफल हुने

प्रकाशित मिति :  18 May, 2025 6:02 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । आजको बैठकमा तीन महत्वपूर्ण विधेयकमाथि छलफल तथा समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची तय गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नुहुनेछ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो विधेयक छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आजको बैठकमा शिक्षा, स्वास्थ्य, हवाई सेवा तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने भएकाले संसद् बैठक प्रति सांसदहरूको चासो विशेष रहने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !