शहीद नेत्रलाल अभागी स्मृति दिवसमा सहभागी हुन एमाले महासचिव पोख्रेल दाङ आउँदै

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेल शहीद नेत्रलाल अभागी स्मृति दिवसका अवसरमा हुने विविध कार्यक्रमहरूमा सहभागी दाङ आउने भएका छन् ।
शहीद नेत्रलाल अभागीको ४१ औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) दाङद्वारा जेठ ६ गते आयोजित कार्यक्रमलाई सम्वाेधन गर्न महासचिव पोख्रेलले दाङ आउन लागेकाे जिल्ला प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले जानकारी दिए ।
बस्यालका अनुसार कार्यक्रम तुलसीपुरको मेट्रो दरबारमा हुँदै छ । २०४१ सालको जेठ ६ गते शहीद नेत्रलाल अभागीको रहस्यमय तरीकाले निधन भएको थियाे । उनकाे स्मरणमा हरेक वर्षझैं यसपालि पनि एमालेले विशेष कार्यक्रम आयोजना गर्दै छ ।
नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले पार्टी पंक्ति, जनवर्गीय संगठन, शुभेच्छुक तथा आम नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
यसै अवसरमा महासचिव पोख्रेलले सोही दिन दिउँसो ४ बजे तुलसीपुरको बिजौरी, बाँसडबरा, सज्नेवा, लक्षिणपुर हुँदै कोठरी जोड्ने १५ किलोमिटर सडकको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ ।
प्रदेश सरकारको अगुवाइमा निर्माण हुन लागेको उक्त सडक शिलान्यास लक्षिणपुर माध्यमिक विद्यालय नजिकै हुने उपमहानगरपालिका प्रवक्ता माधव वलीले जानकारी दिए ।
महासचिव पोख्रेलको उपस्थितिमा जेठ ७ गते विहान ८ बजे प्रेस चौतारी दाङले नेपाल पत्रकार महासंघ दाङको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ। उक्त पत्रकार सम्मेलन प्रेस चौतारी घोराही नगरको संयोजनमा हुनेछ।
त्यसैदिन विहान ११ बजे तुलसीपुर वडा नं. १९ मा प्रतिस्थापन गर्न लागिएको बुद्धप्रतिमाको अनावरण कार्यक्रम समेत महासचिव पोख्रेलको हातबाट सम्पन्न हुनेछ ।
यसैगरी दिउँसो १ बजे घोराहीको सभाहलमा एमाले दाङको आयोजनामा जनप्रतिनिधि र पार्टी पंक्तिका लागि विशेष प्रशिक्षण कार्यक्रम तय गरिएको छ।
दुई दिनसम्म दाङ बसाइ रहने पोख्रेलले जिल्लाको विकास निर्माण सम्बन्धमा विभिन्न तहमा रहेका सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको एमाले दाङले जनाएको छ ।