सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतमा दायर गरेको हो । आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले आर्थिक वर्ष ०७५र७६ मा केन्द्रबाट विभिन्न उपकरण खरिदमा पौने ६ करोड भ्रष्टाचार अभियोगमा लगाएको छ ।
अनुसन्धानका क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् २०७६ असार ४ मा उक्त केन्द्रमा पेश गरेको भ्याट बाहेक २ करोड ६५ लाख र अर्को शिर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको, मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी रकम भुक्तानी दिए र लिएको अख्तियारले दावी गरेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लिई दिई कसूरजन्य कार्य गरेको आरोप छ ।








