२१ मंसिर २०८२, आइतबार
लुम्बिनी प्रदेशको २०८२/८३ नीति तथा कार्यक्रम

स्वदेशी उत्पादन, सुलभ कर्जा र आत्मनिर्भर विउबिजन अभियानमा जोड दिइने

प्रकाशित मिति :  19 May, 2025 2:01 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा ‘स्वदेशी उत्पादनको उपयोगः समृद्ध प्रदेशमा सहयोग’ भन्ने मूल नारासहित आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ स्पष्ट प्राथमिकता दिएको छ।

नीति अनुसार प्रदेशभित्र उत्पादन हुने वस्तुहरूको उपभोगलाई प्रवर्द्धन गरिनेछ, जसले स्थानीय उत्पादन र उद्योगलाई प्रोत्साहन गर्नेछ। स्थानीय उद्योगहरूलाई कच्चा पदार्थमा सहुलियतसहित सहयोग प्रदान गरिने र कच्चा पदार्थ उत्पादन उद्योग स्थापनाका लागि समेत सहयोग गर्ने उल्लेख गरिएको छ।

छाडा चौपायाका कारण कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। यसले कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सुलभ कर्जा तथा व्याज अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी व्यवसाय, उद्योग र कृषि क्षेत्रका लागि सुलभ पहुँच सुनिश्चित गरिनेछ। यससँगै प्राविधिक सेवा घरदैलोमै पु-याउने नीतिलाई निरन्तरता दिइनेछ।

प्रदेशलाई बिउबिजनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बिउ उत्पादन, संकलन तथा प्रवर्द्धनलाई अभियानका रूपमा अघि बढाइने नीति लिइएको छ। यसले कृषकहरूलाई गुणस्तरीय विउको भरपर्दो आपूर्ति सुनिश्चित गर्नेछ।

यस्तै, समस्याग्रस्त सहकारीहरूको अनुगमन गरिने र तिनीहरूको समस्या समाधानका लागि सक्रिय पहल गरिने नीति पनि सार्वजनिक गरिएको छ। यसले सहकारी प्रणालीको पारदर्शिता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।

यी कार्यक्रमहरूको सफल कार्यान्वयनले लुम्बिनी प्रदेशलाई आत्मनिर्भर, स्वदेशी उत्पादनमुखी र सशक्त सहकारी प्रणालीसहितको समृद्ध प्रदेशको रूपमा स्थापित गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको स्पष्ट भएको छ।



प्रतिक्रिया दिनुहोस !