लुम्बिनी प्रदेश सरकारको यातायात क्षेत्रको सुधार योजना : ‘मोबाइल हातमा, यातायात सेवा साथमा’
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘मोबाइल हातमा : यातायातको सेवा साथमा’ भन्ने मूल मान्यतासहित यातायात सेवालाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमुखी बनाउने स्पष्ट योजना अघि सारेको छ।
नीति अनुसार अब सवारीसाधनको राजस्व तिर्ने प्रणाली पूर्ण रूपमा अनलाइनबाट सञ्चालन गरिनेछ, जसले नागरिकलाई सेवाको पहुँच सहज बनाउनेछ र कार्यालयमा हुने भीडभाड तथा समय खेर जाने अवस्थालाई न्यूनीकरण गर्नेछ।
यस्तै, ‘विद्यार्थी ट्राफिक कार्यक्रम’लाई विस्तार गर्दै सडक सुरक्षा शिक्षा प्रवर्द्धन गरिनेछ। विद्यालयस्तरमै ट्राफिक सचेतना फैलाएर दुर्घटनाको जोखिम घटाउने कार्यक्रमहरू सञ्चालन गरिने योजना छ।
यातायात व्यवस्था कार्यालयको सेवा प्रणालीमा पारदर्शिता ल्याउने, सेवाग्राहीमैत्री व्यवस्था विकास गर्ने र नागरिकमैत्री सेवा प्रदान गर्न विशेष पहल गरिने उल्लेख गरिएको छ।
यस नीतिमार्फत प्रदेश सरकारले प्रविधिको सहायताबाट सार्वजनिक सेवा व्यवस्थापन सुधार, सडक सुरक्षामा जनसहभागिता र यातायात सेवामा पारदर्शिता ल्याउने लक्ष्य लिएको छ।








