२२ मंसिर २०८२, सोमबार

समाजवादका लागि राष्ट्रिय पुँजी निर्माण गर्नुपर्छ–महासचिव पोखरेल

प्रकाशित मिति :  20 May, 2025 5:42 pm


oplus_0

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजवादका आधार तयार गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेत्रलाल अभागीको ४१ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, “समाजवाद निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण गर्नुपर्दछ । समाजवादको आधार तयार गर्न सरकार लागिपरेको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम त्यसैअनुरूप तयार पारिएको छ ।”

परिवर्तन तुहाउन देशीविदेशी शक्तिहरु लागिपरेको बताउँदै महासचिव पोखरेलले जेठ १५ गते गर्ने भनिएको आन्दोलनले यसैको संकेत गर्ने बताए । “परिवर्तन बिरोधी शक्तिहरु लागिरेका छन् । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोशिश भइरहेका छन् । राजावादीको नाममा भइरहेका आन्दोलनले यसैको संकेत गर्दछन्”, महासचिव पोखरेलले भने ।

मुलुकको स्थायित्वका लागि मुलुकमा एउटै राजनीतिक दलले पाँच वर्ष सरकार सञ्चालन गर्नसक्ने संरचना बनाउनु आवश्यक रहेको पोखरेलको भनाइ थियो । जनताका निरासा चिर्नका लागि बलिया राजनीति शक्ति नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सत्ता सहकार्य चलिरहेको भन्दै पोखरेलले वर्तमान सरकारले छोटो समयमै मुलुकको मुहार परिवर्तन गरेको बताए ।
बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि कांग्रेससँग सत्ता सहकार्य गरी माओवादीलाई सरकार बाहिर पुर्याएको भन्दै उनले सत्ता साझेदारी निरन्तररुपमा अगाडि बढ्ने बताए ।

पश्चिम नेपालमा कम्युनिस्ट आन्दोलनको विस्तारमा अभागीले पु¥याएको योगदानको स्मरण गर्दै महासचिव पोखरेलले उहाँको योगदानको कदर राज्यले गरेको बताए । उनले वर्तमान राजनीतिक परिस्थिति र जनजागरणका लागि अभागीको विचार र आदर्शबाट प्रेरणा लिनुपर्नेमा जोड दिए ।

युवालाई स्वदेशमै रोजगारीमा जोड्नका लागि सरकारले उत्पादनशील क्षेत्रतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्दै पोखरेलले उद्यमशीलता विकासमार्फत बेरोजगारी समस्याको समाधान गर्न सकिने धारणा व्यक्त गरे ।

देशको विकासलाई स्वीकार्न नचाहने तत्वहरूबाट समाजमा नकारात्मकता फैलाउने प्रयास भइरहेको भन्दै महासचिव पोखरेलले चेतनाको दियो बालेर भ्रमको अँध्यारोलाई चिर्न आह्वान गरे ।

संघीयताको विरोध गर्नेहरूलाई उनले तथ्यको आधारमा जवाफ दिँदै भने, “प्रदेश र स्थानीय सरकारले ६७ हजार किलोमिटर सडक कालोपत्रे गरेका छन्, ९८ प्रतिशत घरधुरीमा आधारभूत पिउने पानी पुगेको छ, नेपालीको औसत आयु ५४ वर्षबाट ७२ वर्षमा पुगेको छ–के यो नराम्रो हो ?” उनले यस्तो विकास नदेख्ने र अनावश्यक भ्रम फैलाउनेहरूलाई समाजमा तर्कविहीन नकारात्मक धारणा नछर्ने सुझाव दिए ।

उनले विदेशमा बसेर सामाजिक सञ्जालमा देशको चिन्ता व्यक्त गर्ने युवालाई स्वदेश फर्किएर विकासको अभियानमा सहभागी हुन आग्रह गरे । “आलोचना मात्रै गरेर होइन, हातेमालो गरेर विकास गर्नुपर्छ”, उनको भनाइ थियो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरी लगायत नेताहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !