गलत प्रचारबाट राष्ट्रलाई जोगाउनुपर्ने बेला आएको छ–महासचिव पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्न चाहने तत्व तथा गलत प्रचारको लहरलाई खारेज गर्दै राष्ट्र निर्माणको यात्रालाई गति दिनुपर्नेमा जोड दिएका छन् ।
प्रमुख दलको सहकार्यमा बनेको वर्तमान गठबन्धन सरकारलाई ‘स्थायित्वको मार्ग’ र ‘राष्ट्रिय विकासको अवसर’ को रूपमा चित्रण गर्दै पोखरेलले एमालेले आफ्नो नेतृत्वमा अघि बढिरहेका नीति तथा कार्यक्रमहरूलाई राष्ट्रिय प्राथमिकताको रूपमा प्रस्तुत गरेको बताए ।
प्रेस चौतारी नेपाल दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय अस्थिरतामा रमाउने मानसिकता र कुप्रचारले देशको शान्ति, विकास र स्थायित्वमा खतरा उत्पन्न गर्न थालेको बताए । ‘‘गलत प्रचारबाट राष्ट्रलाई जोगाउनुपर्ने बेला आएको छ’’, पोखरेलले भने ।
गठबन्धनको यथार्थ र प्रमुख दलको सहकार्य
गठबन्धन सरकारलाई नेपाली निर्वाचन प्रणालीको बाध्यताका रुपमा अथ्र्याउँदै पोखरेलले प्रमुख दलहरूबीचको सहकार्यले अब सरकार पटक–पटक फेरिने क्रम रोकिएको र २०८४ सालसम्म स्थायित्व सुनिश्चित भएको बताए ।
उनले कांग्रेस–एमालेको सहकार्यबाट नीति निर्माण, कानुन निर्माण, कानुन संशोधन, सुशासन तथा विकास प्रक्रियामा सहजता आएको बताए ।
‘एमालेलाई निशाना बनाउने’ योजनाबद्ध प्रयास
सत्ताबाट बाहिरिएपछि रास्वपालगायत केही शक्तिहरूले एमालेलाई योजनाबद्ध रूपमा प्रहार गर्ने क्रम बढाएको उनको दाबी छ । साना दलको अत्यधिक बार्गेनिङ सकिएपछि प्रमुख दलहरूको सत्ता साझेदारी सुरु भएको बताउँदै पोखरेलले भने, ‘‘सत्ताबाट बाहिरिनुको आक्रोस एमालेमाथि पोखिएको छ । एमालेप्रति योजनाबद्ध हमला सुरु भएको छ तर यस्ता प्रहारहरूले उल्टै एमाले राष्ट्र निर्माणको अपरिहार्य शक्ति भएको पुष्टि गरेको छ ।’’
स्थायित्वले विकासलाई गति दिएको दाबी
एमालेको नेतृत्वमा स्थायित्व आएपछि रोकिएका विकास योजनाहरू तीव्र गतिमा अघि बढ्न थालेको महासचिव पोखरेलले बताए । विशेषतः काठमाडौँ–मुग्लिङ सडक, मुग्लिङ–पोखरा सडक, पूर्व–पश्चिम राजमार्गलगायतका ठूला पूर्वाधार योजना निर्माणमा तीव्रता आएको उनले बताए ।
दाङ जिल्लामा पनि पूर्वाधार विकासले तीव्र गति लिएको उल्लेख गर्दै पोखरेलले चारलेन सडक निर्माण प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार घोराही–लमही सडकलाई एकतर्फी सडकका रूपमा निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।
घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ४०० बेडमा स्तरोन्नति गरिने योजना समावेश गरिएको भन्दै उनले यसले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने अपेक्षा गरिएको छ ।
शैक्षिक क्षेत्रमा पनि दाङले उल्लेखनीय प्रगति भन्दै उनले घोराहीमा इञ्जिनियरिङ क्याम्पस बहुवर्षीय ठेक्कामा निर्माण प्रक्रिया अघि बढेकाले यसले उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।
तुलसीपुर विमानस्थललाई मध्यमस्तरको विमानस्थलको रूपमा विकास गर्न बजेट विनियोजन गर्ने तयारी भएको भन्दै उनले एयरपोर्ट विकासमा अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गरी परिणाममुखी योजनालाई अघि बढाइने प्रतिबद्धता जनाए ।
यस्तै, गुहारखोला हाइड्यामको डिपिआर निर्माण यो वर्षभित्र टुङ्ग्याइने र यस परियोजनालाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए । साथै, औद्योगिक क्षेत्रको डिपिआर पनि निर्माणको तयारीमा रहेको बताए ।
इन्धन डिपो स्थापनाका लागि आवश्यक जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको र उक्त काम टुङ्गिएपछि डिपो निर्माण प्रारम्भ गरिने उनको भनाइ थियो ।
सामाजिक क्षेत्रमा पनि एमाले नेतृत्वको सरकार सक्रिय रहेको बताउँदै महासचिव पोखरेलले सामाजिक न्याय, समावेशिता र सेवा प्रवाहमा सुधार ल्याउन ठोस योजना समावेश गरिएको जानकारी दिए ।








