देशभरबाट अवैध लागूऔषधसहित २५ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले मंगलबार विशेष अपरेशन सञ्चालन गर्दै ठूलो मात्रामा नियन्त्रणमा लिने कार्य गरेको छ ।
विभिन्न जिल्लाबाट एकैदिन पक्राउ परेका २५ जना व्यक्ति र उनीहरूको साथबाट बरामद भएका लागूपदार्थको विवरणले मुलुकमा लागूऔषध समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ ।
बल्खुबाट डाइजेपाम, नुर्फिन, फेनारगनसहित तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–१४ बल्खुमा डेरा गरी बस्दै आएका मोरङ पथरी शनिश्चरे–१ का २१ वर्षीय सन्जोक लिम्बुसहित तीन जनालाई डाइजेपाम, नुर्फिन र फेनारगन गरी १२० एम्पुल लागूऔषधसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कालिमाटी प्रहरी वृत्तबाट खटिएको टोलीले लिम्बुको डेरामा छापा मारी लागूऔषध, ७ मोबाइल र रु. २३,२०० नगदसहित पक्राउ गरेको हो ।
धर्मशालाबाट ४६.३८ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
नवलपरासीकाे रामग्राम नगरपालिका–९ कर्मैनीस्थित धर्मशालाबाट सुरेन्द्रप्रसाद हरिजन (४८) लाई ४६ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
चन्द्रौटाबाट नाइट्राभेट १३७ ट्याब्लेटसहित दुई युवा पक्राउ
रुकुमका दुई युवाहरू नबिन नेपाली (२४) र शिसिर गौतम (१९) कपिलवस्तुको शिवराज नगरपालिका–५ बाट नाइट्राभेट ट्याब्लेटसहित पक्राउ परेका छन् ।
गड्डाचौकीबाट ३.१५ ग्राम खैरो हेरोइनसहित एक जना समातिए
भारतबाट नेपालतर्फ आउँदै गरेका २२ वर्षिय लालसिंह कार्कीलाई मंगलबार साँझ पक्राउ गरी कञ्चनपुरमा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी बिरेन्द्रनगरकाे सत्यनारायण चोकबाट धिरन विक नाम गरेका युवकलाई पक्राउ गरिएको छ । मोरङकाे विराटनगरका दुई स्थानमा गरी ५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । हुलास चोकबाट जितप्रसाद सापकोटा (३२) र ढाँटबाट रबिन विश्वकर्मा (२२) पक्राउ परेका हुन् ।
धनकुटाकाे त्रिवेणी चोकबाट २.१२ ग्राम खैरो हेरोइन र स्पासपेनसहित दुई जना पक्राउ परेका छन् । २५ वर्षीय अभिषेक लिम्बु र १९ वर्षीय सागर सहनीलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
सिराहामा ०.१ ग्राम ब्राउनसुगरसहित शम्भु सुमन पक्राउ परेका छन् । गोलबजार नगरपालिका–५ हरिपुर टोलबाट मंगलबार राति पक्राउ गरिएको हो ।
झापाकाे बालुवाटारबाट २.३५ ग्राम ब्राउनसुगर र नगद ४३,०८० रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । चन्दन र सुनिल राजबंशी नामक व्यक्तिहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
चितवनकाे भरतपुर–३ पुलचोकबाट विभिन्न प्रकारका २३ एम्पुल लागूऔषध र रु. १ लाख ९ हजार नगदसहित एक जना पक्राउ परेका छन् । ३० वर्षीय सुनिल सुनारलाई ट्रामाडोल ट्याब्लेटसमेतसहित पक्राउ गरिएको हो ।
कास्कीकाे माछापुच्छ्रे–८ घट्टेखोलाबाट १३३ एम्पुल लागूऔषधसहित युवराज गुरुङ पक्राउ परेका छन् । बुप्रेनोर्फिन, डाइजेपाम, फेनारगन एम्पुलसहित नियन्त्रणमा लिइएको हो ।
बाँकेकाे नेपालगञ्जबाट ७०.७२ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । समिर बेहेना (१९) र जुमाई सिद्दिकी (३१) नाम गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।
कञ्चनपुरमा १.२७ ग्राम खैरो हेरोइनसहित १९ वर्षीय कबिर शाही पक्राउ परेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।








