पाँच सडक दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौँ । देशभर स्थानमा भएका सवारी दुर्घटनामा परेर ६ जनाकाे मृत्यु भएका छन्, भने दर्जनौं व्यक्ति घाइते भएका छन् । मोटरसाइकल, टिपर र पिकअपसहितका सवारी साधनको ठक्कर वा अनियन्त्रित दुर्घटनाका कारण मृत्यु हुनेको संख्या बढ्दो देखिएको छ। प्रहरीले सबै घटनामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
सर्लाही-दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बागमती नगरपालिका–४ जिरायत बजारस्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। प्र.३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकलका चालक काठमाडौँ बसन्तपुरका ३० वर्षिय विवेक मानन्धर र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहट बिसुनपुरवाका ३३ वर्षिय नागेन्द्र साह सोनारको चन्द्रनिगाहपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको हरिवनस्थित बागमती मोडेल अस्पतालमा उपचार भइरहेको छ।
सुर्खेत-अनियन्त्रित मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
लेकवेशी नगरपालिका–३ ब्यवारे पुलमा क.प्र.०२–००२ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षिय समिर सुनारको मृत्यु भएको छ ।
दशरथपुरबाट लेकफर्सातर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका सुनारको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा राति मृत्यु भएको हो । उक्त मोटरसाइकलमा सवार अर्का एक जना घाइते छन् र सोही अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी-मोटरसाइकल र पिकअप ठोक्किँदा ३८ वर्षिय अरूण चौधरीको मृत्यु
बर्दिबास नगरपालिका–८ क्वार्टर चोकमा मोटरसाइकल (प्र.२–०४–००१ प १४९७) र पिकअप (प्र.२–०३–००१ च २५१७) ठोक्किँदा रामगोपालपुर नगरपालिका–५ का अरूण चौधरीको मृत्यु भएको हो ।
घाइते चौधरीको बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते छन्। पिकअप चालक फरार छन् र प्रहरीले खोजी कार्य जारी राखेको छ।
नवलपरासी-मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
रामग्राम नगरपालिका–१ सण्डास्थित सडकमा सुनवलबाट परासी जाँदै गरेको लु.१८ प २९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते चौधरीको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकसहित सवार अर्को व्यक्ति घाइते छन् र उपचार भइरहेको छ।
सिराहा-टिपरको ठक्करबाट ६० वर्षीय साइकल यात्रीको मृत्यु
गोलबजार नगरपालिका–९ स्थित सडकमा चौहर्वाबाट मिर्चैयातर्फ जाँदै गरेको टिपर (प्र.२–०१–००१ क ०१७१) ले ठक्कर दिँदा महोत्तरी गौशाला नगरपालिका–११ घर भई गोलबजार–९ मा बस्दै आएका ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका सेखको प्रादेशिक अस्पताल जनकपुरमा साँझ मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी सक्रिय, अनुसन्धान जारी
प्रहरीका अनुसार सबै दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। अधिकांश घटनामा सवारीको लापरवाही, तीव्र गति र ट्राफिक नियमको उल्लङ्घन प्रमुख कारण देखिएको बताइएको छ। ट्राफिक प्रहरीले यात्रुहरूलाई सुरक्षाका उपाय अपनाउन र चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ ।








