६ असार २०८२, शुक्रबार

एमाले महासचिव पोखरेलले भने-वैरीको प्रशंसा खतरा हो, आलोचना चिन्ताको विषय होइन

प्रकाशित मिति :  21 May, 2025 6:35 pm


दाङ । नेकपा एमाले दाङ स्थानीय विभागद्वारा आयोजित पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको नीति, योजना र आगामी मार्गचित्रबारे प्रशिक्षण दिँदै विभिन्न धारणा राखेका छन् ।

महासचिव पोखरेलले प्रशिक्षणमा बोल्दै भने, “वैरीहरूले प्रशंसा गर्न थाले भने आफूहरू बाटो बिराएको सम्झनुपर्छ। उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन । बरु उनीहरूकै आलोचना कमजोर पक्ष बलियो बनाउनका लागि उपयोग गर्नुपर्छ। पार्टीका नीति, कार्यक्रम र योजना जनताबीच लैजानुपर्छ। जनताको निराशालाई आशामा बदल्ने पार्टी एमाले नै हो ।”

उनले एमालेले विगतका हरेक संकटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा आफूलाई स्थापित गरिसकेको दाबी गरे ।

पोखरेलले भने, “एमाले देश परिवर्तन गर्नका लागि स्थापित भएको पार्टी हो। हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौं। विगतमा माओवादी आन्दोलनले देशलाई अस्थिर पार्दा पनि एमाले विचलित भएन। हामीले १२ बुँदे सहमति गराएर हिंसाको अन्त्य गर्‍यौं र गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्यौं ।”

महासचिव पोखरेलले वाम एकता, लोकप्रिय सरकारको नेतृत्व, आर्थिक वृद्धि दर सुधार, लोककल्याणकारी राज्य निर्माण लगायत विगतका उपलब्धि स्मरण गराउँदै भने, “२०७४ सालमा वामपन्थी शक्तिलाई एकताबद्ध गरेर जनताको अभूतपूर्व समर्थनसहित सरकार बनायौं । देशमा ७ प्रतिशत आर्थिक वृद्धि दर पुर्यायौं। तर प्रचण्डको गलत मानसिकताका कारण त्यतिबेला समस्या उत्पन्न भयो। सत्ता गुम्दा उनीहरूमा छटपटाहट देखिएको छ। विदेशमा पसिना बगाएर मात्र देश बन्दैन। देशभित्रै श्रम, सिर्जना र विकास चाहिन्छ ।”

कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उपलब्धि र आगामी चुनौतीबारे समेत जानकारी गराइएको थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजनाबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम नेकपा एमाले दाङ स्थानीय विभागका संयोजक मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !