अर्गानिक सहकारीमार्टमा प्रचण्डको चासो : ‘स्थानीय उत्पादनमै देशको भविष्य’
दाङ । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रूकुम पूर्वको भूमे गाउँपालिका पुगेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक फरक खालको गन्तव्य रोजे-अर्गानिक सहकारीमार्ट ।
यो सहकारीमार्ट कुनै सामान्य पसल होइन । यो मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गत सञ्चालित जैविक उत्पादनको केन्द्र हो, जहाँ गाउँले किसानको पसिना बजारसम्म पुयाइन्छ ।
‘हामीले उत्पादन गर्छौं, शहरले उपभोग गर्छ’
सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले अध्यक्ष दाहाललाई जानकारी गराउँदै भने, “स्थानीय स्तरमै जैविक वस्तुको माग उच्च छ। किसानहरूलाई उत्पादनमुखी बनाउन हामी जुटिरहेका छौं ।”
उक्त सहकारीले तरकारी, फलफूल, अन्नदेखि लिएर जैविक जडीबुटी तथा परम्परागत सामग्रीको सङ्कलन, प्रशोधन र बजारीकरणसम्मको प्रक्रिया सञ्चालन गर्दै आएको छ ।
लोकमार्गभन्दा अघि गाउँको सम्भावना हेर्ने नजर
अध्यक्ष दाहालले सहकारीको अबलोकनपछि भने, “यस्ता सहकारीहरू मुलुकको आधारशिला हुन्। गाउँमै रोजगारी, गाउँमै आय, अनि गाउँमै समृद्धि सम्भव छ ।” उनले स्थानीय उत्पादनले मात्र आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने भन्दै सहकारीप्रति उत्साह व्यक्त गरे ।
लोकमार्गले भूगोल जोड्छ, तर सहकारीले जीवनशैली बदल्छ भन्ने सन्देश मार्टले दिएको छ । भूमे गाउँपालिकाका किसान अहिले सहकारीमार्फत राजधानीमा समेत उत्पादन पठाउन थालेका छन् । अभियानले बाटो बनाउने हो, तर यस्तो सहकार्यले बाटोमा ‘अर्थ’ भर्ने काम गर्छ ।








