स्याङ्जामा लागू औषधसहित एक युवक नियन्त्रणमा

स्याङ्जा ।स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित सिद्धार्थ राजमार्गमा लागू औषधसहित एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हिजाे करिब ४:४० बजे बुटवलबाट पोखरातर्फ गइरहेको बा.२ ख. १५९२ नम्बरको हाईस गाडीमा चेकजाँच गर्ने क्रममा उक्त युवकलाई नियन्त्रणमा लिइएको हो।
वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका–२७ लेखनाथ निवासी २६ वर्षीय अजित परियारको साथबाट लागू औषध फेला पारेको स्याङ्जा प्रहरीले जनाएको छ।
परीयारको साथबाट डाईजेपाम, फेनारेगन र आईपिल गरी कुल २१ एम्पुल लागू औषध बरामद गरिएको हो। प्रहरीले लागू औषध बरामद भएसँगै परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे थप जानकारी दिँदै सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले यस घटनालाई गम्भीरतापूर्वक लिइएको बताए। उनले लागू औषधको ओसारपसारमा संलग्नहरूलाई नियन्त्रणमा लिने कार्यलाई प्रहरी प्रशासनले प्राथमिकतामा राखेको पनि जानकारी दिए।