२२ मंसिर २०८२, सोमबार

देशभर आंशिक बदली र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रकाशित मिति :  25 May, 2025 7:23 am


काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायु प्रणालीको प्रभाव सक्रिय रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव पारिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको असरले सातै प्रदेशमा आंशिकदेखि साधारण बदलीको अवस्था कायम रहनेछ।

कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा दिउँसोको समयमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ ।

त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । यस्तो अवस्थामा ती क्षेत्रका जनजीवनमा प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

“वर्षा र चट्याङको सम्भावनाले कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई सेवा प्रभावित हुन सक्छ,” महाशाखाले भनेको छ, “त्यसकारण सर्वसाधारण र सम्बन्धित निकायहरू सतर्क रहनुपर्छ ।”

विशेष गरी दैनिक हिँडडुल, खेतीपातीका काम, हवाई यात्राको तालिका तथा पर्वतीय तथा हिमाली क्षेत्रमा हुने यात्रामा प्रभाव पर्न सक्ने भएकाले पूर्वतयारीका साथ योजनाहरू मिलाउन महाशाखाले सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !