२४ मंसिर २०८२, बुधबार

पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा राससद्वारा तस्बिर प्रदर्शनी सुरु

प्रकाशित मिति :  25 May, 2025 12:51 pm


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसु्ब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे गणतन्त्र दिवस २०८२ का अवसरमा राष्ट्रिय समाचार समिति(रासस)द्वारा आइतबार आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रोे पहिचान’ विषयक तस्बिर प्रदर्शनी कार्यक्रम संयुक्त रुपमा शुभारम्भ गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ । गणतन्त्र दिवस २०८२ को अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संयुक्त रूपमा गरेका छन् ।

भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ मा हिन्दूकुश हिमशृङ्खलासहितका हिमाल, हिमाली तथा पहाडी जनजीवन, र देशका प्रमुख पर्यटकीयस्थल समेटिएका ९६ उत्कृष्ट तस्बिरहरू प्रदर्शनमा राखिएका छन् ।

राससका समाचारदाता र फोटो पत्रकारहरूले विभिन्न कालखण्डमा खिचेका यी तस्बिरहरूमा सगरमाथा संवाद कार्यक्रमसँग सम्बन्धित दृश्यहरूलाई समेत समेटिएको छ ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका चुनौती र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्य प्रदर्शनीको मूल उद्देश्य रहेको जनाएको छ ।

यस प्रदर्शनीमार्फत हिमशृङ्खला तथा पर्वतीय पर्यटनको प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनका विरुद्ध अन्तर्राष्ट्रिय बहसमा योगदान पुर्‍याउने विश्वास लिइएको छ । साथै, प्रदर्शनीले राससका तस्बिर र समाचार उत्पादनमा थप विविधता र समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले स्वागत मन्तव्य राख्दै प्रदर्शनीको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए ।

नेपाल विश्वकै अग्ला १४ हिमशिखरमध्ये ८ वटा सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरिको मातृभूमि भएकाले पर्वतीय पर्यटनले आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तस्बिर प्रदर्शनी यही जेठ ३० गतेसम्म रासस केन्द्रीय कार्यालय परिसरमा जारी रहनेछ ।



प्रतिक्रिया दिनुहोस !