नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै : गृहमन्त्रीमाथिको विवाद छलफलको एजेन्डामा
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।
बैठकको तयारीबारे जानकारी दिँदै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता नवीकरणसम्बन्धी प्रगतिबारे छलफल मुख्य एजेन्डा रहेको बताएका छन् ।
बैठकमा पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा गठन भएको क्रियाशील सदस्यता समितिले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नेछ। सो समितिले सदस्यता नवीकरण प्रक्रियामा देखिएको ढिलाइबारे पनि स्पष्टीकरण दिने जनाइएको छ ।
महाधिवेशन अनिश्चित
क्रियाशील सदस्यताको टुंगो नलागेकै कारण कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन नसक्ने सम्भावना बढ्दो छ। आन्तरिक तयारी र सांगठानिक कार्यसूचीमा ढिलाइ भएपछि यो वर्ष भित्र महाधिवेशन हुने सम्भावना झनै क्षीण भएको नेताहरू स्वीकार गर्छन् ।
गृहमन्त्रीमाथिको आरोपबारे पनि छलफल
बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ । गृहमन्त्री लेखकमाथि अध्यागमन विभागमा “सेटिङ मिलाएर” दैनिक ५० लाख रुपैयाँसम्म असुली गरेको गम्भीर आरोप लागिरहेको छ ।
हालसम्म उनले यी आरोप अस्वीकार गर्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्ना तर्फबाट स्पष्ट जवाफ दिने घोषणा गरिसकेका छन् ।








