पर्यटनको प्रतिक्षामा बाँके राष्ट्रिय निकुञ्ज : बाघ र जैविक विविधता सफल, पर्यटककाे आगमन न्यून
बाँके । बाँके राष्ट्रिय निकुञ्ज–नामैले गर्व पैदा गराउने संरक्षित क्षेत्र, जहाँ पाटेबाघजस्ता दुर्लभ वन्यजन्तुहरू प्राकृतिक रूपमा रमाइरहेका छन् तर यति ठूलो जैविक सफलताको पृष्ठभूमिमा पर्यटकीय गतिविधि भने अपेक्षाकृत न्यून देखिन्छ ।
बाघ संरक्षणमा अन्तर्राष्ट्रिय मान्यता पाउन थालेको यो निकुञ्ज अझै पनि आन्तरिक तथा विदेशी पर्यटकका लागि गन्तव्य बन्न सकेको छैन ।
संरक्षण सफल, पर्यटन सुस्त
विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जको प्रमुख उद्देश्य पाटेबाघको वासस्थानको रक्षा गर्नु थियो । सन् २०२२ मा गरिएको सर्वेक्षणअनुसार, यहाँ २५ वयस्क पाटेबाघ, ३४ प्रजातिका स्तनधारी जनावर, २७६ जातका चराहरू, २४ प्रजातिका सरिसृप, ९ उभयचर र ५५ प्रकारका माछाहरू भेटिएका छन् ।
कुल ४२२ वन्य प्रजातिको अभयारण्य बनेको यो निकुञ्ज जैविक दृष्टिकोणले धनी भए पनि पर्यटकीय गन्तव्यका रूपमा अझै परिचित बन्न सकेको छैन ।
तथ्यले देखाउँछ: पर्यटक न्यून
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म जम्मा ७०० जना मात्र पर्यटकले निकुञ्जको मुख्य क्षेत्र भ्रमण गरेका छन् ।
“निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोज तथा हल्का भ्रमण गर्न आउने ५० हजारभन्दा बढी पर्यटक छन्, तर मुख्य वन्यजन्तु क्षेत्रमा भने ७ सयको हाराहारीमा मात्र पर्यटक पुगेका छन्,” उनी बताउँछन् ।
यो आँकडाले देखाउँछ, निकुञ्जको ‘ काेर एरिया’ मा पर्यटक तान्न चुनौती अझै बाँकी छ। सबै पर्यटक घरवास (होमस्टे) मार्फत निकुञ्ज घुमेका छन् भन्ने तथ्यले पर्यटन पूर्वाधार अझै कमजोर रहेको संकेत गर्छ ।
होमस्टेहरू सक्रिय, सहयोग अपेक्षित
बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा अहिले गाभर होमस्टे, खड्कवार होमस्टे, नयाँगाउँ होमस्टे जस्ता स्थानीय पर्यटन प्रयासहरू क्रियाशील छन्।
गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी भन्छन्, “प्राकृतिक दृश्य हेर्न आउने पर्यटकको संख्या विस्तारै बढ्दै छ, तर अझै सन्तोषजनक अवस्था भने छैन।”
उनीहरू पर्यटन प्रवद्र्धनमा लागिपरेका छन्, तर निकुञ्ज क्षेत्रको मूल गन्तव्यमा पुग्ने यातायात, गाइड, सफारी सवारी, र पूर्वाधारको अभाव अझै कायम छ।
बर्दिया र बाँकेबीचको अन्तर
निकटवर्ती बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक वर्ष आन्तरिक तथा विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको देखिन्छ।
पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठ भन्छन्, “बर्दियामा बाघ हेर्ने सफारी लोकप्रिय भइसकेको छ, तर बाँकेमा अझै पनि शान्त वातावरण छ।”
उनका अनुसार, बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने प्रयास नागरिक तहबाट भए पनि पर्याप्त सरकारी रणनीति र लगानी अभाव छ।
सम्भावना र चुनौतिहरू
बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा, पूर्व–पश्चिम राजमार्ग नजिकै अवस्थित छ। स्थान–सुगमता, सुरक्षा, र प्राकृतिक सौन्दर्य-तीनै पक्षले बाँकेलाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउन सक्छ तर, पैकेज टुर, प्रचारप्रसार, स्थानीय गाइड तालिम, सफारी सवारी साधन, र होटल–होमस्टे समन्वय नहुँदा सम्भावना फिर्ता भइरहेको छ ।
वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार, “पर्यटक ल्याउन होमस्टे तथा होटल व्यवसायी सक्रिय भएर सफारी गाडीको व्यवस्था, गाइड सेवा र संवेदनशीलता अभिवृद्धि गर्न सक्नुपर्छ ।”
बाघ संरक्षणमा अन्तर्राष्ट्रिय सन्दर्भमा उच्च सफलता हासिल गरिसकेको बाँके राष्ट्रिय निकुञ्जलाई अब संरक्षण–आधारित पर्यटनको केन्द्र बनाउने बेला आएको छ। सरकारी नीति, निजी लगानी, र स्थानीय नेतृत्वको सहकार्यमा यो निकुञ्ज राष्ट्रिय गौरवको पर्यटकीय गन्तव्य बन्न सक्छ।








