ग्यास सिलिन्डर लिक हुँदा आगलागी : कपिलवस्तुमा एकै परिवारका दाजु बहिनीको मृत्यु
दाङ । शुद्धोधन गाउँपालिका–५, जयनगरमा आइतबार राति एक दर्दनाक दुर्घटना भएको छ। खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा लागेको आगलागीमा परेर एकै परिवारका दाजु बहिनीकाे मृत्यु भएकाे छ।
खाना बनाउने क्रममा रेगुलेटर खोल्नेबित्तिकै ग्यास लिक भई आगो सल्किएको थियो । आगलागीमा परी २५ वर्षिय शिवकुमार यादव र उनकी १८ वर्षिया बहिनी सोनम यादव गम्भीररूपमा जलेकाे र घाइते अवस्थामै अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार, ग्यास सिलिन्डरको रेगुलेटर खोल्नेक्रममा ग्यास चुहावट भई एक्कासी आगो लागेकाे खुल्न आएको छ । घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।
मृतक सोनम यादव राष्ट्रिय माध्यमिक विद्यालय मुरफुटवामा कक्षा १० मा अध्ययनरत छात्रा थिइन् । विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेले सोनम अध्ययनमा अब्बल रहेको बताउँदै उनको असामयिक निधनले विद्यालय परिवार स्तब्ध भएको जानकारी दिए ।
यस दुखद् घटनाले सम्पूर्ण गाउँशाला शोकमा डुबेको छ। स्थानीयवासी, विद्यालय र आफन्तजनले घटनालाई अकल्पनीय पीडाका रूपमा लिएका छन् ।








