एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले वातावरण दिवसको अवसरमा वेस्ट ह्याकाथन आयोजना गर्दै
काठमाडौँ । विश्व वातावरण दिवस २०८२ को अवसरमा नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन आयोजना हुने भएको छ। ‘विन देयर ह्याक्ड द्याट’ थिममा जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा हुने यो ह्याकाथन एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजना गरिनेछ।
कार्यक्रमको उद्देश्य प्रविधि विज्ञ, सिर्जनशील व्यक्ति, उद्यमी तथा जलवायु अभियन्तालाई समेटेर फोहर व्यवस्थापनको समस्यालाई प्रविधि र नवप्रवर्तनका माध्यमबाट समाधान खोज्नु रहेको छ। ह्याकाथनले डिजिटल प्रविधिमा आधारित सेवा प्रदायक, औपचारिक फोहर व्यवस्थापन निकाय र स्थानीय सरकारबीचको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “डिजिटल इनोभेसन र वातावरण संरक्षणलाई एउटै मञ्चमा जोड्ने यो पहल निकै अर्थपूर्ण छ। यस ह्याकाथनले नेपालका चुनौतीपूर्ण समस्यामध्ये एक फोहर व्यवस्थापनका लागि प्रभावकारी समाधानहरू दिन सघाउनेछ।”
हाल नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ। तर रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको र फोहर व्यवस्थापन क्षेत्रमा महिलाको सहभागिता ५ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाउँछ। यो ह्याकाथनले महिला, युवा र प्रविधिकर्मीलाई लक्षित गर्दै डिजिटल समाधानमार्फत समावेशी र कार्यान्वयनयोग्य विचारहरूलाई प्रोत्साहन गर्नेछ।
खालिसिसिका संस्थापक तथा सिइओ अमुन थापाले भने, “यो केवल ह्याकाथन मात्र होइन, फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान हो। हामी युवालाई सक्षम बनाउने अवसरको सिर्जना गर्दैछौं।”
ह्याकाथनमा सहभागी हुन इच्छुक विद्यार्थी, स्टार्टअप, ईन्जिनियर, डिजाइनर, कोडर तथा अनौपचारिक रूपमा फोहर व्यवस्थापनमा योगदान दिने सबैले जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रतियोगीहरूले ‘ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म’, ‘धुवाँबिनाको फोहर’, ‘फोहरमा महिलाको उद्यमशीलता’ र ‘डिजिटाइज ट्र्यास’ विषयमा समाधान विकास गर्नुपर्नेछ।
कार्यक्रममा गोल्यान ग्रुप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहयोग रहेको छ।








