त्रिभुवन राजपथमा बस दुर्घटना : तीनको मृत्यु, चार घाइते
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–३ अन्तर्गत त्रिभुवन राजपथमा सोमबार बेलुका भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बज्रवाराही गोपाली गाउँबाट ठाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भई अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा अन्दाजी ४० वर्षिय कृष्ण बलामी, ३८ वर्षिय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ निवासी रघुनन्दन यादवको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुई जनाको ठेगाना अझै खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ। अन्य तीन जनाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालक थाहा नगरपालिका–५ का २९ वर्षिय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले सार्वजनिक सवारीसाधनको मर्मत तथा चेकजाँचमा थप ध्यान दिनुपर्ने आवश्यकताप्रति पनि संकेत गरेको छ।








