देशभर आंशिक बदली र वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ । पहाडी क्षेत्रका केही स्थान र तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । यसले खासगरी यात्रा तथा कृषि कार्यमा असर पुर्याउने देखिएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने अनुमान गरिएको छ ।
रातिको समयमा पनि केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।








