राप्तीमा सरसफाइ सचेतना कार्यक्रम सुरु : फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकारको सक्रियता
देउखुरी । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि ‘सरसफाइ सचेतना कार्यक्रम’ सुरु गरेको छ। एक हप्ते अभियान सोमबारदेखि सुरु गरिएको हो ।
गाउँपालिकाले आशाका किरण संस्था, प्रहरी प्रशासन, टोल विकास संस्था तथा सरोकारवाला नागरिकहरूको सहकार्यमा कार्यक्रमको थालनी भालुवाङ बजार क्षेत्रबाट गरेको हो ।
सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्दै सडक प्रयोगकर्ताहरूलाई डस्टबिनको प्रयोग गर्न, सार्वजनिक स्थलमा फोहोर नफाल्न तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
कार्यक्रमअन्तर्गत होटल, पसल, बस्ती तथा सडक किनारमा उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्न व्यापक सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका छन् ।
शान्तिपुरदेखि सिङ्गे खोलासम्म फैलिएको पूर्व–पश्चिम राजमार्ग र मुख्य सडक क्षेत्रलाई प्राथमिकता दिइएको सरसफाइ शाखा प्रमुख गीता चौधरीले जानकारी दिइन् ।
पोस्टर, पम्प्लेट, सडक नाटक, रेडियो कार्यक्रम र प्रत्यक्ष संवादमार्फत नागरिकमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको छ ।
गाउँपालिकाले फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधानतर्फ अघि बढाउने उद्देश्यले ‘सरसफाइ केन्द्र’ समेत स्थापना गरेको छ। सो केन्द्रमा सङ्कलित फोहोरलाई पुनः प्रयोग गरी इन्टरलक र टायल उत्पादन थालिएको छ, जसले वातावरण संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेको छ।
सरसफाइ सुपरिवेक्षक सुरेश बैमा मगरका अनुसार, अभियानमा विद्यालय, महिला समूह, युवा क्लब, टोल सुधार समिति लगायतका निकायहरूको सक्रिय सहभागिता रहेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कार्यक्रम दीर्घकालीन सोचअनुसार अघि बढाइएको बताउँदै नागरिक तहबाटै स्वच्छता र जिम्मेवार व्यवहारको विकास आवश्यक रहेको उल्लेख गरे । उनले भने, “गाउँपालिकाले फोहोर व्यवस्थापनमा नयाँ दृष्टिकोण अवलम्बन गर्दै स्थायी समाधानतर्फ पाइला चालेको छ । समुदायको सहभागिताले मात्र सफा र समुन्नत राप्तीको परिकल्पना साकार गर्न सकिन्छ।”








