गणतन्त्रमाथिको आक्रमणमा मौनता होइन प्रतिकार चाहिन्छ-नेता गौतम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गणतन्त्रविरुद्ध भइरहेका आक्रमणहरूलाई चुपचाप हेरेर बस्न नहुने चेतावनी दिएका छन् ।
प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै गौतमले जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्थामाथि प्रहार गर्नेलाई प्रतिकार गर्नुपर्ने समय आएको बताएका हुन् ।
“गणतन्त्र कुनै नेताको दया होइन, यो जनताको रगत र पसिनाबाट आएको व्यवस्था हो,” गौतमले भने, “आज जब गणतन्त्रमाथि हमला भइरहेको छ, त्यतिबेला कुनै पनि शक्तिले मौन बस्नु हुँदैन ।” उनले एमाले कुनै पनि हालतमा गणतन्त्र विरोधी शक्तिको षड्यन्त्र सामु नझुक्ने स्पष्ट पारे ।
‘गणतन्त्रको रक्षा एमालेको पहिलो जिम्मेवारी’
गौतमका अनुसार, गणतन्त्रमाथिको प्रहारलाई परास्त गर्न एमाले अग्रपङ्क्तिमा उभिनेछ । “अरू दल र संगठन के गर्छन् त्यो उनीहरूको विवेकको कुरा हो, तर एमाले गणतन्त्रको संरक्षणमा सधैं अग्रसर हुनेछ,” उनले बताए ।
गणतन्त्र दिवसलाई देशभर उत्सवको रूपमा मनाउने निर्णयअनुसार, उनले प्रेस चौतारीका सम्पूर्ण कार्यकर्तालाई प्रचार–प्रसार अभियान तीव्र बनाउने निर्देशन दिए । “गणतन्त्र उत्सव केवल स्मरण होइन, यो जनतालाई पुनः सचेत गराउने अवसर पनि हो,” गौतमले जोड दिए ।
प्रचार अभियानलाई तीव्रता दिन निर्देशन
भेलामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पनि उपत्यकामा रहेका सबै कमिटीहरूलाई सक्रिय हुन निर्देशन दिए । उनले आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसका कार्यक्रमहरूलाई जनस्तरमा पु¥याउन सामाजिक सञ्जाल र आम सञ्चार माध्यममार्फत प्रभावकारी प्रचार गर्न आग्रह गरे ।
“हामीले अब शब्दमा होइन, सन्देशमा काम गर्नुपर्छ,” पाण्डेले भने, “गणतन्त्रलाई जनजीवनमा आत्मसात् गराउने जिम्मेवारी सञ्चारकर्मीको पनि हो ।”
एमालेको सन्देश : गणतन्त्रलाई जनभावनासँग जोड्ने
एमालेले यसपटकको गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रमको रूपमा नभई जनभावनासँग जोडिएको उत्सवको रूपमा मनाउने तयारी गरिरहेको छ । पार्टीका प्रचार अभियान, प्रेस चौतारीको सञ्जाल र सामाजिक मिडिया अभियानमार्फत गणतन्त्रको मूल्य र उपलब्धिहरूलाई व्यापक बनाउने रणनीति बनाइएको छ।
राजनीतिक रूपमा गणतन्त्रमाथि चुनौतीहरू देखिँदै गइरहेका बेला एमाले नेतृत्वले स्पष्ट सन्देश दिएको छ-यो व्यवस्था जोगाउने जिम्मा एमालेले लिएको छ ।








