भृकुटी महिला सहकारीको नवनिर्मित भवन उद्घाटन सम्पन्न
लक्ष्मी पोखरेल,
देउखुरी । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवनिर्मित भवनको उद्घाटन गरेको छ । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले भवनको उद्घाटन गरेका हुन् ।
संस्थाका अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, पूर्व महिला विकास अधिकृत मायादेवी लोहनी, उपाध्यक्ष कमलापति चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथि माननीय चौधरीले सहकारी आन्दोलनले गाउँगाउँमा आर्थिक सशक्तिकरणको माध्यम बनिरहेको उल्लेख गर्दै भने, “महिलाहरूको सक्रियता र नेतृत्वले सहकारी संस्था मात्र होइन, समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । भृकुटी सहकारीको यो भवनले संस्थागत स्थायित्व र सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
पूर्व महिला विकास अधिकृत मायादेवी लोहनीले महिलाहरूको सहकारी नेतृत्वलाई आत्मनिर्भरता र सामुदायिक विकासको मेरुदण्डका रूपमा चित्रण गर्दै भनिन्,
“सहकारी मूल्य र सिद्धान्तको पालन गर्दै अघि बढे सफलता अवश्य प्राप्त हुन्छ । महिला नेतृत्वले नेपाली समाजमा गहिरो परिवर्तन सम्भव बनाउँछ ।”
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले सहकारीको निरन्तर प्रगति र योगदानको प्रशंसा गर्दै पालिकाबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे । उपाध्यक्ष कमलापति चौधरीले महिला नेतृत्वको प्रतिबद्धता र परिश्रमलाई अनुकरणीय भन्दै सहकारीले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
संस्थाका लेखा संयोजक दया भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक परमेश्वरी न्यौपानेले गरेका थिए । कार्यक्रमले महिला सहकारी आन्दोलनको सशक्त उदाहरण प्रस्तुत गरेको सहभागीहरूले प्रतिक्रिया जनाएका थिए ।








