स्याङ्जामा भिरबाट खसेका एक पुरुषको उद्धार, पोखरामा उपचार जारी
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ सेवादीस्थित ढल निर्माणस्थलमा कार्यरत एक व्यक्ति भिरबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएका छन्।
सुर्खेत गुर्भाकोट नगरपालिका–१४ घर भई हाल स्याङ्जामा काम गरिरहेका ४३ वर्षीय चित्र बहादुर पुन मिति हिजाे राति करिब ८ः३० बजेको समयमा घर नजिकै पिसाब फेर्न जाँदा अचानक भिरबाट तल खसेका हुन्।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर सोही राती करिब १२ः३० बजे गम्भीर अवस्थामा पुनलाई भिरको खोचबाट उद्धार गरेको थियो।
घाइतेलाई तत्कालै प्रदेश अस्पताल, पुतलीबजारमा प्रारम्भिक उपचार गराई गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार पुनको उपचार अहिले पोखरामा जारी छ।








