१९ मंसिर २०८२, शुक्रबार

गणतन्त्रले अधिकारसँगै कर्तव्यको बोध गराएको छ : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  29 May, 2025 7:03 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना तथा बधाई व्यक्त गरेका छन् ।

आजको दिनलाई नेपाली जनताले ऐतिहासिक विजय हासिल गरेको सम्झनाका रूपमा उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्रलाई नेपालको गौरवपूर्ण उपलब्धिका रूपमा वर्णन गरे । शुभकामना सन्देशमा भनिएको छ, “१७ वर्षअघि नेपाली जनताले गरेको निरन्तर संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको सफलताका रूपमा यही दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यही दिनदेखि सम्पूर्ण नेपाली नागरिक सार्वभौम बनेका छन् ।”

मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको जग बसालिएको दिनका रूपमा गणतन्त्र दिवसको स्मरण गरे ।

साथै, उनले वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “गणतन्त्रले हामीलाई अधिकार मात्रै दिएको छैन, कर्तव्यको पनि बोध गराएको छ ।”

शुभकामना सन्देशमा प्रदेश सरकारलाई सशक्त बनाउँदै संघीयताको संस्थागत विकास र सुधार आजको आवश्यकता भएको उल्लेख गरिएको छ । उनले संविधानको भावना अनुसार लुम्बिनी प्रदेश सरकारले योजना र कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिए ।

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन, युवालाई स्वरोजगार तथा उद्यमशीलतातर्फ अभिप्रेरणा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तारलगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरू अघि सारेको छ ।

उनले प्रदेश सरकार संघ र स्थानीय तहसँग सहकार्य गर्दै प्रदेशको समग्र क्षमता विस्तार, समृद्धि र सामाजिक न्यायलाई संस्थागत गर्न विशेष ध्यान दिइरहेको स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले गणतन्त्रबाट स्थापित राजनीतिक अधिकारलाई जनताको जीवनस्तरसँग प्रत्यक्ष जोड्न साझा जिम्मेवारी भएको उल्लेख गर्दै भने, “उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी सिर्जना र जनउत्तरदायी शासन प्रवर्द्धनमार्फत मात्रै गणतन्त्रको मर्म साकार पार्न सकिन्छ।”

उनले गणतन्त्र दिवसलाई स्मरण, प्रतिबद्धता र सङ्कल्पको दिनका रूपमा लिएर भने, “आजको दिन हामीले विगतका योगदानलाई सम्झनुका साथै वर्तमानको मूल्याङ्कन गर्दै भावी पुस्तालाई समुन्नत, समावेशी र आत्मगौरवपूर्ण उत्साह हस्तान्तरण गर्ने सङ्कल्प गर्नुपर्छ।”



प्रतिक्रिया दिनुहोस !