लुम्बिनीमा १८औँ गणतन्त्र दिवस : गणतन्त्रको सुदृढ अभ्यासमा जोड
दाङ । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य र गरिमामय रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोहमार्फत प्रदेश सरकारले दिवसलाई गौरवका साथ स्मरण गरेको हो ।
मुख्य समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रलाई नेपाली जनताको त्याग, बलिदान र संघर्षद्वारा प्राप्त ऐतिहासिक उपलब्धि भन्दै यसको सम्मान र सुदृढ अभ्यासमा सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।
उनले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासन प्रणालीलाई मजबुत बनाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको उल्लेख गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता र स्वरोजगारलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए । संघीयतालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको पनि उनको धारणा थियो ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको बताउँदै यसको संस्थागत सुदृढीकरणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे । उनले राजनीतिक संघीयता कायम भए पनि प्रशासनिक तथा वित्तीय संघीयता व्यवहारमा ल्याउन अझ प्रयास गर्नुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संघीयता गणतन्त्रको मूल उपलब्धि भएको बताउँदै यसको लक्ष्य समृद्धि र विकासमा केन्द्रित रहनुपर्ने धारणा राखे ।
उनले अधिकारको पूर्ण हस्तान्तरण गर्न संघीय सरकारले प्रतिबद्धता देखाउनुपर्ने भन्दै “संघीय सरकार मुठ्ठी कसेर बस्नु हुँदैन, अधिकार दिन मुठ्ठी फुकाउनु जरुरी छ” भन्ने सन्देश दिए ।
विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्र सुदृढीकरणसँगै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्नेमा जोड दिए । अधिकार प्राप्तिसँगै कर्तव्यको अभ्यास आवश्यक रहेको उनको भनाइ थियो ।
समारोह आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गरेका थिए ।








