पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा सवारी अवरुद्ध, सयौँ यात्रु अलपत्र
दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको चोरमारा र दुम्कीवास क्षेत्रमा रहेको वैकल्पिक डाइभर्सन बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
राति परेको अविरल वर्षासँगै आएको बाढीले चोरमारा र दुम्कीवासमा बनाइएको वैकल्पिक सडक बगाउँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, पुल भाँचिएपछि बनाइएका डाइभर्सनहरू रातिको बाढीले पूर्ण रूपमा बगाएपछि तत्काल सवारी आवागमन ठप्प भएको हो । अहिले वैकल्पिक सडक पुनः निर्माण गर्ने कार्य सुरु गरिएको छ ।
गत वैशाख २९ गते चोरमारा र पुस २६ गते दुम्कीवासमा रहेका पुलहरू भत्किएपछि खोलाबाट डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको थियो तर डाइभर्सन पनि वर्षासँगै आएको बाढीले बगाएपछि राजमार्गका यात्रुहरू गन्तव्यमा पुग्न असमर्थ बनेका छन् ।
स्थानीय प्रशासनले तत्काल वैकल्पिक उपायहरू अपनाउने प्रयास गरिरहेको बताइएको छ । लामो दूरीका सवारीसाधनहरू दुबै छेउमा रोकिएका छन् भने यात्रुहरू वर्षा र अवरोधका कारण असहज परिस्थितिमा परेका छन् ।
प्रभावित क्षेत्रमा राहत र वैकल्पिक व्यवस्थाको माग तीव्र बनेको छ । अधिकारीहरूले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।








