२० मंसिर २०८२, शनिबार

लुम्बिनी चेम्बर अफ कमर्सद्वारा बजेटको स्वागत : निजी क्षेत्र उत्साहित

प्रकाशित मिति :  30 May, 2025 10:19 am


बुटवल । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति लुम्बिनी चेम्बर अफ कमर्सले सकारात्मक प्रतिक्रिया दिँदै स्वागत जनाएको छ ।

उत्पादनमुखी कार्यक्रम, पूर्वाधार विकास, रोजगारी सिर्जना र लगानी प्रवद्र्धनमा केन्द्रित बजेट आएको भन्दै चेम्बरले खुसी व्यक्त गरेको हो ।

लुम्बिनी चेम्बरका अध्यक्ष टंक पोखरेलद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रका सुझावलाई समेटिएको ऐतिहासिक बजेट आएको उल्लेख गर्दै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको धारणा व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले निजी क्षेत्रलाई सहयात्रीका रूपमा स्वीकार गर्दै आर्थिक मन्दी हटाएर अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक सन्देश दिएको छ ।”

बजेटमा कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइएको, साथै स्वदेशी तथा विदेशी लगानी आकर्षणका उपाय अवलम्बन गरिएको भन्दै यस्ता कार्यक्रमले उत्पादन वृद्धिका साथै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तर चेम्बरले बजेट कार्यान्वयनका विषयमा केही आशंका पनि व्यक्त गरेको छ । दीर्घकालीन आर्थिक वृद्धिमा सहयोगी देखिए पनि कतिपय राजस्व संकलनका योजना महत्वाकांक्षी भएको जनाउँदै त्यसले बजेट कार्यान्वयनमा चुनौती उत्पन्न गराउने सम्भावना औँल्याएको छ ।

विशेषगरी युवामुखी स्टार्टअप कार्यक्रम, शिक्षा तथा स्वास्थ्य पूर्वाधारमा इतिहासमै पहिलोपटक गरिएको ठूलो बजेट विनियोजन, अनुत्पादक क्षेत्रमा लगानीलाई निरुत्साहित गर्ने निर्णय र साना व्यवसायीका लागि धरौटी खारेजी, दोहोरो कर निवारण, कम्पनी दर्ता तथा नवीकरण शुल्क हटाउने निर्णयको चेम्बरले खुलेर स्वागत गरेको छ ।

त्यस्तै, डिजिटल सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाइएको र विद्युतीय सवारी साधनमा कर नबढाइएकोप्रति समेत चेम्बरले सरकारलाई धन्यवाद दिएको छ। बजेटप्रति निजी क्षेत्रको यस्तो सकारात्मक प्रतिक्रिया सरकारको नीति कार्यान्वयनका लागि उत्प्रेरक हुने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस !