२० मंसिर २०८२, शनिबार

सांसद विनोद चौधरीको प्रतिक्रिया : बजेट व्यवसायमैत्री र सकारात्मक प्रयासको सङ्केत

प्रकाशित मिति :  30 May, 2025 12:43 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई व्यवसायमैत्री भन्दै सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा व्यवसायसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्ने प्रयास देखिएको भन्दै उनले सरकारलाई स्वागतयोग्य कदम चालेको बताएका हुन् ।

सांसद चौधरीले बजेटमा विदेशमा लगानी गर्न चाहने नेपाली नागरिकका लागि ‘स्वेट सेयर’ लिन पाउने प्रावधानलाई विशेष रूपमा उल्लेख गर्दै यसले श्रम, सिप र अनुभवको कदर हुने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

“आफ्नो सिप र मेहेनत बेच्न पाउने आधारमा स्वेट सेयरको व्यवस्था बजेटमार्फत गरिएको छ, जुन ऐतिहासिक र प्रगतिशील कदम हो,” उनले भने ।

उनले वर्षौंदेखि होटेल व्यवसायमा लागु हुँदै आएको विद्युत महसुलको मुद्दा पनि बजेटले सम्बोधन गरेको भन्दै यसको खुलेर स्वागत गरे ।

“बिजुली महसुल बढी तिर्दै आएका होटेल व्यवसायीका लागि यसपालिको बजेटमा ठोस सम्बोधन आएको छ, जुन व्यवसायीका दृष्टिकोणबाट सकारात्मक हो,” चौधरीले बताए ।

सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने युवाहरूलाई नेपालमै आकर्षित गर्ने गरी बनाइएको नीति तथा वातावरणले पनि मुलुकभित्रै रोजगारी र उद्यमशीलता प्रवर्द्धन हुने आशा व्यक्त गरे ।

“आईटी क्षेत्रमा नेपालमै वातावरण बनाउने प्रयास अत्यन्त सराहनीय छ, यसले दक्ष जनशक्तिलाई विदेशिनबाट जोगाउँछ,” उनले जोड दिए ।

उनका अनुसार बजेटले समग्रतामा मुलुकको अर्थतन्त्र उकास्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने खालको संरचना लिएको छ ।

व्यवसायी, उद्यमी तथा रोजगारी खोज्ने युवाहरूका लागि उत्साहजनक सम्भावना बोकेको यो बजेट कार्यान्वयनमा सफल हुन सके राष्ट्रको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने उनको विश्वास छ । सांसद चौधरीको उक्त अभिव्यक्तिले निजी क्षेत्रका चासो र अपेक्षालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको सङ्केत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !