लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास सम्भव छ-मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२ को उद्घाटन गर्दै लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरुका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा-करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्याय-अत्यन्तै सान्दर्भिक रहेको बताए । उनले यिनै शिक्षाहरू समतामूलक, सन्तुलित र न्यायपूर्ण आर्थिक संरचना निर्माणका लागि प्रेरणादायी हुने स्पष्ट गरे ।
“आजको असमानता, गरिबी, उपभोक्तावाद र पर्यावरणीय संकटजस्ता चुनौतीहरूका समाधानका लागि बुद्धको विचार झनै आवश्यक भएको छ,” उनले भने, “सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणमा गम्भीर बहसको अवसर दिएको छ ।”
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई समग्र प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारी समेत दिए ।
“यो सम्मेलन ती योजनाहरूलाई मूर्त रूप दिन सहयोगी हुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने, “हामीसँग लुम्बिनीलाई केन्द्रमा राखेर सिंगो प्रदेशको समुन्नत विकास गर्ने आत्मविश्वास छ ।”
सम्मेलनबाट प्राप्त हुने विचार, सुझाव र निष्कर्षले केवल लुम्बिनी प्रदेश मात्र होइन, सम्पूर्ण मानव समाजलाई समुन्नत, न्यायपूर्ण र दिगो आर्थिक विकासतर्फ उन्मुख गराउने मार्गदर्शन गर्ने उनको भनाइ थियो ।
सम्मेलनको मूल उद्देश्य बौद्ध शिक्षाको प्रचारप्रसारसँगै लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र आर्थिक विकासमा योगदान पुर्याउनु रहेको छ ।
सम्मेलनमा बौद्ध सिद्धान्तमा आधारित स्थायी विकास, पर्यटन प्रवर्द्धन, आर्थिक सहकार्य तथा सम्भावनाहरूका विषयमा गहन छलफल भइरहेको जनाइएको छ ।
कार्यक्रममा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।








