‘बजेट कान पवित्र बनाउन होइन, कार्यान्वयनका लागि ल्याइएको हो’-अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट पूर्ण रूपमा कार्यान्वयनमुखी रहेको स्पष्ट पारेका छन् ।
सरकारले ल्याएको बजेट ‘कान पवित्र बनाउने’ परम्परागत अभ्यासका लागि नभई कार्यान्वयन गर्ने लक्ष्यका साथ आएको अर्थमन्त्रीको भनाइ छ ।
बिहीबार संसद्मा बजेट प्रस्तुत गरेपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आजैदेखि बजेट कार्यान्वयनमा जाने भएकाले प्रस्तावित योजना तथा कार्यक्रमहरूमा खरिद प्रक्रिया अगाडि बढाउन सकिने जानकारी दिए । “अब ढिलो गर्नुहुन्न, आजैदेखि बजेट कार्यान्वयनको चरणमा छौं,” उनले भने।
बजेट कार्यान्वयनमा प्राथमिकता
अर्थमन्त्री पौडेलका अनुसार बजेटको आकार सीमित भए पनि राजस्व लक्ष्य प्राप्त गर्ने सम्भावना रहेको छ । “यो वर्षको बजेटमा ३ करोडभन्दा माथिका आयोजना मात्रै समेटिएका छन्,” उनले स्पष्ट पारे, “खर्चका लागि पनि सोही आधारमा कार्यविधि तयार गरिएको छ, विनियोजनको प्रश्न उठ्नै नपरोस् भन्ने सोचसहित बजेट बनाइएको हो ।”
निजी क्षेत्रलाई प्रोत्साहन
योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले पनि आजैदेखि मन्त्रालयगत रूपमा बजेट कार्यान्वयनको प्रक्रिया अघि बढ्ने जनाउँदै, बजेटको प्रभावकारी कार्यान्वयनमा सबै मन्त्रालयहरू गम्भीर बन्नुपर्नेमा जोड दिए । उनका अनुसार यो बजेटले निजी क्षेत्रलाई प्रोत्साहन दिने ढंगमा नीति तथा कार्यक्रमहरू समावेश गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भने बजेटसँग सम्बद्ध मौद्रिक नीति र वित्तीय प्रवाह सहज बनाउन राष्ट्र बैंक आवश्यक नीति तथा कदम चाल्ने प्रतिबद्धता जनाए । “राष्ट्र बैंकले बजेटसँग सम्बन्धित विषयहरूमा आर्थिक स्थायित्व सुनिश्चित गर्ने उपायहरू अवलम्बन गर्नेछ,” गभर्नर पौडेलले भने ।
सरकारले सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटलाई कार्यान्वयनमै प्राथमिकता दिइएको स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले नारा वा घोषणामै सीमित नरही व्यवहारमा देखिने बजेट बनाएको दाबी गरेका छन् । अब जिम्मेवार निकायको सक्रियता र निजी क्षेत्रको साथले बजेटको सफलता सुनिश्चित हुने अपेक्षा गरिएको छ।








