रुपन्देहीमा लाइसेन्स काण्ड : चारजनामाथि भ्रष्टाचार मुद्दा दायर
रुपन्देही । रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने क्रममा सरकारी अभिलेखमा हेरफेर गरी अर्कै व्यक्तिको नाममा गैरकानुनी रूपमा लाइसेन्स जारी गरिएको खुलासा भएपछि चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रअनुसार रुपन्देहीकी सभ्यता के.सी. को नाममा सवारी चालक अनुमतिपत्र जारी गर्ने क्रममा सरकारी प्रणाली EDLVRS मा अभिलेखमा हेरफेर गरिएको पाइएपछि उक्त कारबाही प्रक्रिया अघि बढाइएको हो ।
एप्लिकेसन आइडी दुरुपयोग
अनुसन्धान अनुसार २०७८ चैत ७ गते एप्लिकेसन आइडी ८४०१६८५ अन्तर्गत पहिले नै अर्कै व्यक्तिको नाममा क्याटिगोरी बी (कार, जीप, डेलिभरी भ्यान) को लाइसेन्स जारी भइसकेको थियो तर तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, दाङ तुलसीपुर यातायात कार्यालयका अनिल बुढामगर र सेवाग्राही सभ्यता के.सी. को मिलेमतोमा सोही आइडी दुरुपयोग गर्दै विवरण हेरफेर गरि सभ्यता के.सी.को नाममा लाइसेन्स जारी गरिएको पाइएको हो ।
EDLVRS प्रणालीमा एकपटक उत्पत्ति भएको एप्लिकेसन आइडी दोहोरिन नसक्ने प्रावधान रहेको भए पनि, आरोपित कर्मचारीहरूले आन्तरिक प्रणालीमा अनधिकृत पहुँचको दुरुपयोग गरी सरकारी अभिलेख सम्पादन गरेका थिए ।
मुख्य दोषीसरह सभ्यता के.सी.
जाँचमा सभ्यता के.सी.ले पनि बिना कानुनी प्रक्रिया, परीक्षा र प्रमाणिकता अर्कैको आइडी प्रयोग गरी लाइसेन्स लिएको खुलेको छ। सो लाइसेन्स उनले प्रयोगसमेत गरिसकेकी थिइन् । त्यसैले उनलाई मुख्य कसूरदारसरह कारबाही गर्नुपर्ने माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र २२ बमोजिम सजाय माग गरिएको हो ।
सार्वजनिक सेवा प्रणालीमा प्रश्न
यो प्रकरणले सार्वजनिक सेवा प्रणालीको पारदर्शिता र डिजिटल प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक निकायमा सेवा प्रवाह गर्ने कर्मचारीहरूकै मिलेमतोमा यस्तो आपराधिक कार्य हुनु भ्रष्टाचारको जरा अझै मौलाउँदै गएको संकेत हो ।
विशेष अदालतले दायर मुद्दामा आवश्यक सुनुवाइ अघि बढाउने तयारी गरिरहेको जनाएको छ । दोषी ठहरिएमा सम्बन्धित कर्मचारी र सेवाग्राहीलाई कानुन बमोजिम कैद, जरिवाना र अन्य सेवा अस्वीकृति हुनसक्नेछ ।








