स्याङ्जाकाे पुतलीबजारबाट चोरी भएका तीन मोबाइल सहित दुई जना पोखराबाट पक्राउ
स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–३, मजुवास्थित डेराबाट चोरी भएका तीन थान मोबाइल सहित दुई जना युवालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
जेठ १३ गते साँझ चुनी कुमारी मल्लको डेराबाट चोरी भएको भनी प्राप्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै गएको प्रहरीले तीनवटै चोरी भएका मोबाइल सहित अभियुक्तहरूलाई पोखराबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ५ चिलाउनेभाटी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ बसोबास गर्दै आएका २१ वर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा बस्दै आएका २४ वर्षीय शाहिल गुरुङ रहेका छन्।
उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट नौ दिनको म्याद थप अनुमति लिई चोरी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। बरामद मोबाइलहरूमा रेडमी, ओप्पो र भिभो कम्पनीका स्मार्टफोन एकरएक थान रहेका छन्।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिएका छन्।








