रुपन्देहीमा स्थापना भयाे नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग
मुख्यमन्त्री आचार्यले गरे १५ वर्षभित्र सिङ्गो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने घोषणा
बुटवल । रुपन्देहीको रोहिणीमा नेपालको ठूलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गरेका थिए ।
उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्बराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताएका थिए। उनले प्रदेश सरकारले नीति तथा कार्यक्रमको माध्यमबाट सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने योजना अघि सारेको र त्यसको लागि प्रवर्द्धनमुखी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएका थिए ।
रासायनिक मलको अत्यधिक प्रयोगका कारण खाद्यान्न उत्पादनमा गिरावट र नयाँ रोगहरूको उत्पत्ति हुने अवस्थाले लुम्बिनी प्रदेशमा हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीहरूको उपचारमा ठूलो खर्च भएको उनले बताए । यसै कारण रासायनिक मल र विषादीयुक्त खाद्य पदार्थ क्यान्सरको प्रमुख कारण बनेका छन् । यस्तो अवस्थालाई ध्यानमा राख्दै मुख्यमन्त्री आचार्यले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यका अनुसार सरकारले नीति र कार्यक्रममै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको छ र यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गर्ने बताएका छन् ।
उनले पहिला पहाडका ६ जिल्लाहरूलाई प्राङ्गारिक जिल्ला बनाउने र पछि तराईका ६ जिल्लाहरूलाई प्राङ्गारिक बनाउने योजना प्रस्तुत गरेका छन् ।
यस अवसरमा उद्योगका सञ्चालक सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले ३० करोड रुपैयाँको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.’ मार्फत मल उत्पादन सुरु गरेका छन् ।
उक्त उद्योगले प्रत्येक दिन २०० मेट्रिक टन मल उत्पादन गर्ने क्षमता राख्छ र हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गर्दै आएको छ ।
कार्यक्रममा पूर्व सांसद घनश्याम यादव, प्रमोद यादव, र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतका व्यक्तिहरूले नेपालको ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आएपछि किसानहरूले मलको अभावको सामना नगर्ने विश्वास व्यक्त गरे ।
उद्योगका संचालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था र स्वदेशी प्राङ्गारिक मलको बजारमा प्रोत्साहनका लागि सरकारसँग सहयोगको माग गरेका छन् ।
उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना संक्रमणका कारण आफ्ना परिवारका सदस्यलाई गुमाउनुपरेको र त्यहीबाट उत्पन्न समस्यालाई समाधान गर्न प्राङ्गारिक मल उद्योग खोल्ने निर्णय लिएको स्मरण गराइन्।








