१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रियहितमा अघि बढे एकल बहुमत एमालेकै हुनेछ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  31 May, 2025 4:22 pm


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत सुनिश्चित हुने दाबी गरेका छन् ।

उनले राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपालको मार्गमा निष्कलंक भएर अघि बढेमा कसैले एमालेको बहुमत रोक्न नसक्ने धारणा राखे ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगतमा विभिन्न शक्ति केन्द्रहरूबाट पार्टीलाई सिध्याउने प्रयास भए पनि एमाले फेरि लोकप्रिय बनेको उल्लेख गरे ।

उनले भने, “विचार र विकासको नायक पार्टीलाई सिध्याइदिन्छु भन्नेहरुको मोर्चाबन्दी पराजित भइसकेको छ । आज एमालेलाई भित्तामा टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । हामी अब ‘मिशन २०८४’ मा अघि बढेका छौँ ।”

प्रधानमन्त्री ओलीले स्वयम्‌लाई “एमालेको झोले” भनेर परिचय दिँदै जनताको परिवर्तनको चाहनालाई बोकेर अघि बढिरहेको गर्व व्यक्त गरे । उनले आलोचनात्मक चेतको नाममा निरन्तर नकारात्मकता फैलाउने प्रवृत्तिबाट माथि उठ्न बुद्धिजीवीलाई आग्रह गरे ।

“तपाईंहरू बुद्धि बेचेर खाने वर्ग होइन, बौद्धिक वर्ग हो,” ओलीले भने, “देशलाई नोक्सान पुर्‍याउनेहरूप्रति आलोचनाको आवाज उठाउनुहोस्, सही विचार बोकेकाहरूलाई सुधारका लागि सुझाव दिए ।”

प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बेला पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापनाको चर्चा गर्नु अप्रसांगिक भएको टिप्पणी गरे ।

उनले एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने र सही विचारलाई अगाडि बढाउने पार्टीका रूपमा आफ्नो पहिचान पुनः स्थापित गरिसकेको उल्लेख गरे ।

देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला बुद्धिजीवी वर्गले विचारपूर्वक भूमिका खेल्नुपर्ने ओलीको भनाइ थियो । “देशले सही निकास खोजिरहेको छ, त्यसमा बुद्धिजीवीहरूले जिम्मेवार भूमिका खेल्नुपर्छ,” उनले भने ।

महाधिवेशनमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूको उपस्थिति थियो भने विभिन्न क्षेत्रका विशिष्ट बुद्धिजीवीहरूलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय मुद्दामा बुद्धिजीवी वर्गको संलग्नता र योगदानबारे व्यापक छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !