समृद्ध लुम्बिनीका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण-मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सृजनात्मक सामग्री तयार गरी प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
लुम्बिनीमा आजदेखि सुरु भएको टेलिभिजनको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमिका रूपमा परिचित भएकाले यसको अन्तरराष्ट्रिय प्रचारप्रसारमा सञ्चारमाध्यमको भूमिका अपरिहार्य भएको बताए ।
उनले भने, “लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको सहकार्य जरुरी छ। यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न सकिन्छ।”
मुख्यमन्त्री आचार्यले लुम्बिनीको विकास र पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको सक्रियता बढाउनुपर्नेमा जोड दिँदै समन्वयात्मक काम आवश्यक रहेको उल्लेख गरे । “मुलुक बनाउने जिम्मेवारी सबै नागरिकको हो। आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने हो,” उनले भने ।
त्यस्तै, सञ्चार क्षेत्रले समाजमा सकारात्मक सोच विकास गर्ने कार्यमा नीतिनियमको पालना गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । “लुम्बिनीको प्रचारप्रसार सञ्चारमाध्यमबिना विश्वव्यापी बन्न सक्दैन,” मुख्यमन्त्रीको भनाइ थियो ।
प्रदेश सरकारबाट टेलिभिजन र रेडियो नविकरण प्रक्रियालाई अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिँदै उनले आगामी दिनमा प्रचारप्रसारको दायरा अझ विस्तार गरिने उल्लेख गरे ।
‘समृद्धिका लागि सञ्चार’ भन्ने नारासहित सञ्चालित कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनीका अध्यक्ष नरेश केसीले दुई दिनसम्म चल्ने कार्यक्रमबाट लुम्बिनी घोषणापत्र जारी गरिने जानकारी दिए । कार्यशालामा प्रदेशको विकास, सञ्चार क्षेत्रको योगदान, प्रविधि र नीतिसम्बन्धी विषयमा गहन छलफल हुनेछ ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीहरू, मन्त्रीहरू, सङ्घीय सांसद, प्रदेश सांसद, देशभरिका टेलिभिजन सञ्चालक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।








