घोराहीको समृद्ध सडक सपना : आठ वर्षमा १८८ किलोमिटर कालेपत्रे
ग्रामिण सडक र नाला निर्माणमा उल्लेखनीय प्रगति
दाङ । घोराही उपमहानगरपालिकाले पछिल्लो आठ वर्षको अवधिमा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
विशेषगरी सडक तथा नाला निर्माणमा नगरले लिएको पहलकदमीले सहर र ग्रामिण क्षेत्रबीचको दूरी घटाएको छ भने जनजीवनमा सहजता थपिएको छ ।
उपमहानगरपालिका कार्यालयका अनुसार २०७४ सालपछि हालसम्म नगर क्षेत्रभित्र १८८ किलोमिटर सडक कालेपत्र गरिएको छ । नगर प्रमुख नरुलाल चौधरीका अनुसार वडा नम्बर १९ बाहेकका १ देखि १८ नम्बर वडाका भित्री ग्रामिण सडक, वडा कार्यालय जोड्ने बाटो र शहरी सडकहरू गरी १४१ किलोमिटर कालेपत्र गरिएको हो ।
चौधरीले आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि थप ४७ किलोमिटर सडकमा कालेपत्रे कार्य भइरहेको जानकारी दिए। साथै, नगर क्षेत्रमा नयाँ १६६ किलोमिटर सडक निर्माण गरिएको पनि उनले बताए ।
नगर प्रमुख चौधरीका अनुसार घोराही–धर्ना डाँगी गाउँ हुँदै रिहार जोड्ने नयाँ सडक तथा घोराही–चाक्लिघाट–बेलदमार वैकल्पिक मार्ग निर्माणले नगरको यातायात सञ्जालमा नयाँ सम्भावना थपिएको छ ।
यसैबीच, नगर क्षेत्रमा २४३ किलोमिटर ग्रामिण सडकमा ग्राभेल र स्तरोन्नति गरिएको छ भने एक सय ७५ किलोमिटर पक्की नाला निर्माण सम्पन्न गरिएको छ । यसले पानीको निकास व्यवस्थापनमा मद्दत पुर्याएकाे छ ।
भौतिक पूर्वाधारको तीव्र विकाससँगै घोराही उपमहानगरपालिकाले समावेशी विकासको नमूना प्रस्तुत गर्दै आइरहेको छ । नगरवासीले सहज, सुरक्षित र दिगो यातायात सेवाको अनुभव गर्न थालेका छन् । आगामी दिनमा अझ प्रभावकारी योजनासहित नगर अगाडि बढ्ने नगर प्रमुखको भनाइ छ ।








