२० मंसिर २०८२, शनिबार

यातायात व्यवसायीको आन्दोलन घोषणा : भोलिदेखि अनिश्चितकालीन यातायात बन्द

प्रकाशित मिति :  1 June, 2025 1:44 pm


दाङ । दाङ जिल्लामा क्रियाशील यातायात व्यवसायीहरूले भोलिदेखि अनिश्चितकालीन यातायात बन्द गर्दै छन् । आन्दाेलनकाे औपचारिक जानकारी दिन व्यवसायीहरुले आज अपरान्ह ४ बजे तुलसीपुरको मेट्रो दरबारमा पत्रकार सम्मेलनकाे आयाेजना गरेका छन् ।

यसैबीच त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सरकारले व्यवसायी र मजदुरप्रति चरम बेवास्ता गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएका छन् । उनले यातायात क्षेत्रका दीर्घकालीन समस्याहरू समाधान नहुँदा दबाबस्वरूप बन्द घोषणा गरिएको स्पष्ट पारे ।

“यो आन्दोलन सम्पूर्ण यातायात व्यवसायी, मजदुर, कर्मचारी तथा यात्रु सबैको दीर्घकालीन हितका लागि हो । बन्दको समयमा अनुमति बिना सवारीसाधन सञ्चालन नगर्न हार्दिक अनुरोध गर्दछौं”, अध्यक्ष हमालले भने ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले बन्दकाे समयमा अनुमति विना हिड्ने गाडीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनीहरूले आन्दोलनको अवज्ञा नगर्न सबैलाई अनुरोध गरेका छन् ।

“भोलिदेखिको बन्दमा अनुमतिबिना हिड्ने गाडीहरुलाई कडा कारबाही गरिने छ । अनुमतिबिना सन्चालन नगर्न अनुरोध छ, अवज्ञा नगर्नु होला यो आन्दोलन हामी सम्पूर्ण यातायात व्यवसायी, मजदूर, कर्मचारी यात्रु सबैको हितका लागि हो”, अध्यक्ष हमालले फेसबुकमा लेखेका छन् ।

बन्दको प्रभाव दाङसहित देशभर पर्नसक्ने देखिएको छ । आन्दोलनको नेतृत्वमा रहेका यातायात व्यवसायीहरूले समस्याहरू समाधान नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

के छन् आन्दाेलनका मागहरु ?

सार्वजनिक यातायात व्यवसायीहरूले सरकारविरुद्ध सातबुँदे मागसहित आन्दोलन थालेका छन् । आइतबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म विरोध र्‍याली गर्दै प्रदर्शन गरेका हुन् ।

बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको ब्यानर बोकेर विरोध गरेका हुन् ।

‘सार्वजनिक यातायात क्षेत्र जोगाऔं’ भन्ने नारासहित प्रदर्शनमा उत्रेका व्यवसायीहरूले सरकारले ल्याएको नयाँ नियमावलीको कडा विरोध गरेका छन् । नियमावली लागू भए यातायात व्यवसाय नै धरापमा पर्ने गुनासो उनीहरूको छ।

व्यवसायीहरूले आज देशभर आफ्ना गाडीहरू थन्क्याएर सरकारको निर्णयको विरोध जनाएका छन् । उनीहरूले सोमबार (जेठ १९) देखि अनिश्चितकालीन रूपमा देशभर सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

संघर्ष समितिका प्रतिनिधिहरूले भने, “सरकारले व्यवसायी र मजदुरको अवस्थालाई बेवास्ता गर्दै एकतर्फी निर्णय लिएको छ । सात बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिनेछ ।”

सरकार भने नियमावली फिर्ता नलिने अडानमा छ । यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित तयार पारिएको भनिएको नयाँ नियमावलीप्रति व्यवसायीहरूको असन्तुष्टि अझ चुलिँदै गएको छ । सरकार र व्यवसायीबीच वार्ता नहुनु र दुवै पक्षको अडान यथावत रहनु आन्दोलन दीर्घकालीन हुने संकेतको रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !