२८ माघ २०८२, बुधबार

मधेसको विकासमा ऐतिहासिक छलाङ : प्रधानमन्त्रीले गरे एकैपटक ६४ सडकको शिलान्यास

प्रकाशित मिति :  1 June, 2025 4:03 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशको पूर्वाधार विकासमा ऐतिहासिक मोड दिनेगरी एकैपटक ६४ वटा पक्की सडक आयोजनाको शिलान्यास गरे ।

जनकपुरधाममा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले डिजिटल माध्यममार्फत मधेसका आठ जिल्लामा निर्माण हुन लागेको सडक योजनालाई विधिवत् प्रारम्भ गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर लम्बाइका पक्की सडक निर्माण हुनेछन् । यस योजनाका लागि सरकारको अनुमानित लागत १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ । तीन वर्षभित्र कालोपत्रे सहितको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका अनुसार पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सकिएको छ र अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ ।

मन्त्री यादवले पहिलो चरणमा थालिएको ३२० किलोमिटरमध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको र बाँकी काम तिब्र रूपमा अगाडि बढ्ने जानकारी दिए ।

निर्माण गरिने सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुने बताइएको छ । साथै, हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढाइसकिएको मन्त्रालयले जनाएको छ ।

विशेषगरी ग्रामीण क्षेत्रलाई यातायात सञ्जालमा जोड्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र व्यापारिक गतिविधिमा सहजीकरण ल्याउने उद्देश्यले यो आयोजना अत्यन्त महत्त्वपूर्ण मानिएको छ । जलवायु परिवर्तनका प्रभावलाई ध्यानमा राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग पनि गरिनेछ ।

प्रदेश सरकारले प्रधानमन्त्री ओलीको यो योगदानलाई ‘इतिहासमै पहिलोपटक भएको समग्र सडक विकासको ठूलो कदम’ भन्दै आभार व्यक्त गरेको छ । मधेसको विकासमा अब सडक मात्र हैन, विश्वासको बाटो पनि खुलेको विश्वास प्रदेश सरकारको छ।



प्रतिक्रिया दिनुहोस !