१९ मंसिर २०८२, शुक्रबार

समृद्धि र विकासकाे जगमा बजेट बनाइन्छ : लुम्बिनीका मुख्यमन्त्री आचार्य

नीति संवादमा शासकीय सुधार, युवा उद्यमशीलता र संघीय अवरोधमाथि जोड
प्रकाशित मिति :  2 June, 2025 2:39 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले समृद्धि र विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको स्पष्ट पारेका छन् । उनका अनुसार हालै सार्वजनिक नीति तथा कार्यक्रमले प्रस्तुत गरेका प्राथमिकताहरूलाई आधार मानेर बजेटको खाका तयार पारिनेछ।

सोमबार राप्ती उपत्यकाको देउखुरीमा आयोजित “शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति र बजेट एक–अर्कासँग अन्तरसम्बन्धित हुने भएकाले योजनाबद्ध र समन्वयात्मक ढंगले बजेट निर्माणको कार्य अघि बढिरहेको जानकारी दिए ।

“सरकारले धेरै मेहनत गरेर नीति तथा कार्यक्रम ल्याएको छ। त्यसकै जगमा उभिएर बजेट ल्याउँछौं,” मुख्यमन्त्रीको भनाइ थियो । उनले वर्तमान सरकारले नीति, बजेट र कार्यान्वयनबीचको सम्बन्धलाई सुदृढ बनाएर प्रदेशलाई दिगो आर्थिक बाटोमा डोऱ्याउन खोजेको बताए ।

साथै, नीति संवाद र सुझाव संकलनमार्फत जनअपेक्षालाई समेट्न सरकारले जिम्मेवार ढंगले काम गरिरहेको मुख्यमन्त्री आचार्यको धारणा थियो ।

संघीय अवरोध र व्यवहारिक समस्यामा सचेत गराइयो
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई सार्वभौम र अधिकारसम्पन्न बनाउने विषयमा संघीय सरकारलाई निरन्तर सुझाव दिइरहेको बताए ।

ट्राफिक जरिवाना जस्ता विषय प्रदेशको एकल सूचीमा पर्दा पनि त्यसबाट हुने राजस्व संघमा जानेजस्ता व्यवहारिक समस्याले संघीयताको मर्ममा आघात पुर्‍याएको भन्दै समाधानका लागि वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

“प्रदेशका आन्तरिक स्रोतको ठूलो हिस्सा वन हो तर संघीय कानुनका कारण वन क्षेत्रबाट पर्याप्त राजस्व उठाउन नसक्दा विकास कार्य प्रभावित भइरहेका छन्,” मुख्यमन्त्रीले स्पष्ट पारे । उनका अनुसार अहिले राजस्व संकलनमा केही सुधार भएको छ र डेढ अर्ब रुपैयाँले राजस्व वृद्धि भएको छ ।

आर्थिक सम्भावनालाई सबल नीति आवश्यक
कार्यक्रममा बोल्दै पूर्व अर्थ सचिव रामेश्वर खनालले लुम्बिनी प्रदेशमा कृषि, उद्योग, पर्यटन, व्यापार, नवीकरणीय उर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेको औंल्याए । उनका अनुसार सबल र प्रभावकारी नीति कार्यान्वयन गर्न सके लुम्बिनीलाई राष्ट्रिय आर्थिक केन्द्रका रूपमा उभ्याउन सकिन्छ ।

पूर्व सचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवर्द्धनमा जोड दिँदै विधि, विवेक र आचरणमा सुधारसहित सदाचारको अभ्यास अनिवार्य रहेको सुझाव दिए ।

युवा उद्यमशीलता र रोजगारी सिर्जनामा जोड
दायित्व अभियानका अध्यक्ष डा. पुष्कर मल्लले प्रदेश विकासको मुख्य आधार युवालाई उद्यममा आकर्षित गर्दै रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताए । उनले उत्पादनशील अर्थतन्त्र निर्माणका लागि सरकार, निजी क्षेत्र र युवाबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले नीति संवाद कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक सरोकार र सुझावहरूलाई बजेट निर्माण प्रक्रियामा समेटिने जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक सुधार र विकासको अभियानलाई नीतिगत स्पष्टता, संघीय समन्वय र जनभागीदारीमार्फत अघि बढाउने संकेत दिएको छ । नीति संवाद कार्यक्रमले आगामी बजेट निर्माणलाई थप उद्देश्यपरक, सहभागी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !