लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने
दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले “प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२” प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनसम्बन्धी प्रस्ताव बैठकमा पेश गरिएको थियो । सोही प्रस्तावलाई आधार बनाएर उक्त नियमावली परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाइने निर्णय गरिएको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
संशोधन प्रस्ताव लोक सेवामा परामर्शका लागि पठाइएपछि आवश्यक सुझाव र सिफारिस आएपछि नियमावलीलाई अन्तिम रूप दिने तयारी रहेको बताइएको छ । यस नियमावली संशोधनले प्रदेश निजामती सेवाको संरचना, प्रक्रिया र कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।








