गणतन्त्र स्थापनाको दिनलाई स्वतन्त्र नागरिकको दिनका रूपमा लिनुपर्छ-पूर्वराष्ट्रपति डा. यादव
भक्तपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई जनता स्वतन्त्र नागरिक भएको ऐतिहासिक दिनका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सोमबार राति भक्तपुर दरबार स्क्वायर परिसरमा आयोजित ‘म नागरिक, म बनाउँछु नेपाल’ नामक कार्यक्रममा बोल्दै डा. यादवले गणतन्त्रले आम नागरिकलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि सबै नागरिक र विशेषतः गणतन्त्रवादीहरू अझ दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।
चुरे दोहन रोकिएन भने तराई मरुभूमिमा परिणत हुन सक्ने खतरा
कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले चुरे क्षेत्रको दोहनले नेपालको तराई मरुभूमिमा परिणत हुने खतरा औंल्याउँदै समयमै रोकथाम नगरेमा जनजीवन अझै संकटग्रस्त हुने चेतावनी दिए। चुरे संरक्षणलाई दीर्घकालीन राष्ट्रिय नीति बनाउनु पर्ने आवश्यकता उनले औंल्याए ।
पूर्वराष्ट्रपतिले देशको समृद्धिको आधार युवाको सिर्जनशीलता, विचार र संकल्प भएको उल्लेख गर्दै युवाहरूले आफ्नै देशमा केही गर्न सक्ने विश्वास यस्ता कार्यक्रमहरूले बढाउने बताए ।
उनले भने, “आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र हुन सक्दैन, त्यसैले युवाको ज्ञान, सीप र विशेषज्ञतालाई राष्ट्र निर्माणमा प्रयोग गर्न प्रेरणा दिनुपर्छ ।”
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाललाई विदेशीले होइन, हामी नेपालीले नै बनाउनुपर्नेमा जोड दिए। उनले भने, “हरेक नागरिकले आफ्नो ठाउँ आफैं बनाउने प्रण गरे देशको छिट्टै विकास सम्भव छ ।”
साथै उनले उपत्यकाका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण संघ, प्रदेश र स्थानीय सरकारको समन्वयबाट मात्र सम्भव हुने बताए ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो। ‘म नागरिक, म बनाउँछु नेपाल’ अभियानअन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माणमा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त व्यक्तित्वहरूलाई पूर्वराष्ट्रपति डा. यादवले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमले नागरिक चेतना, राष्ट्रिय गौरव र सामाजिक उत्तरदायित्वको सन्देश सम्प्रेषण गर्न भूमिका खेलेको आयोजकहरूको भनाइ छ।








