२७ मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओलीको प्रतिबद्धता-“हिमाल आरोहण सुरक्षित बनाउने सरकारको प्राथमिकता”

प्रकाशित मिति :  3 June, 2025 6:34 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउनेतर्फ सरकार दृढताका साथ क्रियाशील रहेको बताएका छन् ।

अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव (हीरक महोत्सव) को अवसरमा मंगलवार अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकार निरन्तर प्रयासरत रहेको स्पष्ट पारे ।

“सरकारले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै आरोहण मार्गहरूमा आवश्यक पूर्वाधार निर्माण गरेपछि सगरमाथा आरोहण गर्नेहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ,” प्रधानमन्त्री ओलीले भने, “अब अन्नपूर्ण लगायतका हिमालका आधार शिविरहरूलाई जोड्ने पदमार्गहरूको स्तरोन्नति र निर्माणमा पनि सरकारको विशेष ध्यान छ ।”

प्रधानमन्त्री ओलीले म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको स्तरोन्नतिलाई राज्यको प्रमुख प्राथमिकतामा राखिएको जानकारी पनि दिए । कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।

समारोहमा प्रधानमन्त्रीले सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीद्वारा सम्पन्न अन्नपूर्ण आरोहणले नेपालको पर्वतीय पर्यटनको सम्भावनाको ढोका खोलेको स्मरण गरे ।

“मौरिसले लेखेको पुस्तकले नेपालको हिमाली सौन्दर्य र पर्वतारोहण सम्भावनालाई विश्वसामु चिनाउने उल्लेखनीय भूमिका खेलेको छ,” प्रधानमन्त्री ओलीले भने, “यस क्षेत्रको विकासमा शेर्पा समुदायको योगदान अमूल्य छ।”

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।



प्रतिक्रिया दिनुहोस !