२७ मंसिर २०८२, शनिबार

जात होइन, कर्म र विचारले मूल्याङ्कन हुने समाज बनाऔं : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  4 June, 2025 9:47 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत तथा भेदभावको अन्त्य गर्दै समभाव र समनताको विकासमार्फत मानवता आधारित समाज निर्माण गर्न सबैलाई आह्वान गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मका आधारमा होइन, कर्म, विचार र योगदानका आधारमा व्यक्तिको मूल्याङ्कन हुने समाज बनाउनु आवश्यक रहेको स्पष्ट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि मात्र समाजले जात र थर सोध्न थाल्छ । मानवताभन्दा माथि कुनै जात हुँदैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ ।”

उनले यस्ता सोच र व्यवहारले मानव सभ्यतालाई कलङ्कित बनाउने भएकाले सबै नागरिकले आत्मसमीक्षा गर्दै समावेशी र समानतामूलक समाज निर्माणमा हातेमालो गर्नुपर्ने धारणा राखेका छन् ।

“हामीले बनाउने समाज जात, थर वा वंशमा आधारित नभई कर्म, विचार र योगदानमा आधारित हुनु पर्छ,” प्रधानमन्त्रीको भनाइ थियो, “यही नै समतामूलक लोकतन्त्रको आधार हो ।”

सरकारले छुवाछूतजस्तो सामाजिक अपराधविरुद्ध कडा कानुनी व्यवस्था गर्दै आए पनि व्यवहारमा अझ धेरै सुधार आवश्यक रहेको सन्देश प्रधानमन्त्रीको अभिव्यक्तिमा झल्किएको छ ।



प्रतिक्रिया दिनुहोस !