२० मंसिर २०८२, शनिबार

छुवाछूत अन्त्यका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्छ-अध्यक्ष विश्वकर्मा

प्रकाशित मिति :  4 June, 2025 10:09 am



काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्य गर्न राज्यले गरेका घोषणा र संवैधानिक सङ्कल्पहरूलाई व्यवहारमा रूपान्तरण गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रले विभेद, उत्पीडन र असमानताको अन्त्य गर्ने दृढ सङ्कल्पसहित नयाँ संविधान जारी गरेको स्मरण गराए ।

“समाजमा रहेका सबै प्रकारका विकृति, विसङ्गति, विभेद र उत्पीडनको अन्त्य गरी समानता र न्यायमा आधारित समाज निर्माण गर्नु संविधानको मूल मर्म हो,” अध्यक्ष विश्वकर्माले भने ।

उहाँले संविधानमा दलित समुदायको हक–अधिकारका लागि गरिएको विशेष व्यवस्था तथा छुवाछूत अन्त्यसम्बन्धी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष विश्वकर्माले छुवाछूतजस्तो अमानवीय र गैरकानुनी व्यवहारको अन्त्यका लागि सरकारी निकाय, नागरिक समाज, राजनीतिक दल र आम जनसमुदाय सबैले संवेदनशील र उत्तरदायी बन्नुपर्नेमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस !